Trending :
 

एक दशकमा समृद्ध मुलुक बनाउँछौँ : प्रचण्ड

श्रावण २३,२०७५

-

साउन २३, २०७५ काठमाण्डौ
 
 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एक दशकभित्र मुलुकलाई समृद्ध र विकसित बनाएरै छाड्ने बताएका छन् । वीरगञ्जमा मंगलवार सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघ–जिल्ला नगर उद्योग वाणिज्य संघहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आगामी एक दशकसम्म आफ्नो ध्यान मुलुकको समृद्धि र विकासमा केन्द्रित हुने बताएका हुन् । ‘मेरो जीवनको एक दशक अध्ययनमा बित्यो, एक दशक विद्रोह गरेँ र एक दशक शान्ति सम्झौता र संविधान लेखनमा बिताएँ,’ उनले भने, ‘अबको एक दशक मुलुकलाई समृद्ध र विकसित बनाउन बिताउनेछु ।’
 
 
समुद्घाटन कार्यक्रमलाई संबोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रबिना मुलुक समृद्ध हुन नसक्ने र समृद्धिको थालनी भइसकेको समेत बताए । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकभित्र सुशासन गरी बेथितिको अन्त्य गर्न वर्तमान सरकार लागिरहेको बताए । फर्म दर्ता नवीकरणका लागि थप तीन महिनाको समय दिने जानकारी दिँदै एकद्वार प्रणालीलाई कार्यान्वयनमा लैजानेसमेत उनले दाबी गरे ।
 
कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले इतिहासकै शक्तिशाली सरकार आएको ८ महिनासम्म पनि उद्योगी व्यवसायीले यसको अनुभव गर्न नसकेको बताइन् । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकालले कर दर वृद्धिको विरोधमा वीरगञ्जका व्यवसायीहरूले गरेको आन्दोलनको सराहना गरे । सम्मेलनमा ६३ वटा जिल्ला नगर उद्योग वाणिज्य संघ सहभागी भएका थिए ।