Trending :
 

अदालतको आदेशपछि करुणानिधिको अन्त्येष्टि सम्पन्न

श्रावण २४,२०७५

-

 साउन २४, २०७५ एजेंसी
 
भारतका वरिष्ठ राजनीतिज्ञ एम करुणानिधिको चेन्नाईस्थित पवित्र मारिना तटमा बुधबार साँझ अन्त्येष्टि गरिएको छ । चेन्नाई उच्च अदालतको आदेशपछि करुणानिधिको मारिना तटको समाधिस्थलमा अन्त्येष्टि गरिएको हो ।
 
करुणानिधिलाई उनकै गुरु सिएन अन्नदुरै र जीवनभरकी प्रतिद्वन्द्वी जय ललिताको समाधिस्थलनजिकै समाधि गरिएको थियो । यसअघि सो क्षेत्रमा करुणानिधिको समाधि गर्न राज्य सरकारले अनुमति नदिएपछि उनको पार्टी डिएमकेले उच्च न्यायालयमा उजुरी गरेको थियो । बहालवाला मुख्यमन्त्रीको निधन भएमा मात्र सो क्षेत्रमा अन्त्येष्टि गर्न सकिने सरकारले जिकिर गरे पनि अदालतले डिएमकेको पक्षमा फैसला गरेको थियो ।
 
तमिलनाडुमा पाँचपटकसम्म मुख्यमन्त्री बनेका करुणानिधिको मंगलबार साँझ ९४ वर्षको उमेरमा निधन भएको थियो । द्रबिड आन्दोलनका योद्धा करुणानिधि जीवनपर्यन्त राजनीतिमा सक्रिय थिए । डिएमकेका संस्थापक सदस्य करुणानिधिले मृत्यु हुनुअघिसम्म पार्टीको नेतृत्व गरिरहे । तमिलनाडुमा सम्पन्न १३ निर्वाचनमा उनी विजयी भएका थिए । विद्यालय तहको औपचारिक अध्ययनलाई बीचमै पूर्णविराम लगाएका करुणानिधि तमिलनाडु फिल्मका स्क्रिप्ट राइटर पनि हुन् ।
 
यसअघि उनको अन्तिम संस्कारका लागि निकालिएको जुलुसमा भागदौड हुँदा दुईजनाको मृत्यु भएको थियो । भागदौडमा घाइते ४१ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । करुणानिधिको अन्तिम संस्कारमा सहभागी दशौँ हजारको भीडलाई नियन्त्रण गर्न चेन्नई प्रहरीलाई हम्मेहम्मे परेको थियो । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धीलगायतले श्रद्धाञ्जली दिएका थिए l