धर्ती जलेको त्यो कालो दिन
-
साउन २४, २०७५ एजेंसी
सन् १९४५ को अगस्ट ९ । त्यो दिन आज नै हो, जुन वेला कानै फुट्ने आवाज र आगोको लप्कासहित भएको विस्फोटले जापानको नागासाकी सहरका ७५ हजार मानिसलाई एकै चिहान बनाएको थियो । दोस्रो विश्वयुद्धका समयमा अमेरिकाले जापानमाथि गरेको हमलापछि इतिहासले यू–टर्न मोड लिएको थियो ।
नागासाकीका लागि निश्चय नै त्यो दिन अप्रत्यासित थियो । सदाझैँ गृहणीहरू घरको काममा व्यस्त थिए । मध्याह्न सुरु भइनसके पनि मौसम हल्का गर्मी थियो । केही बालबालिका आफ्नै धुनमा बाहिरको चौरमा खेलिरहेका थिए । वयस्कहरू कामका लागि आ–आफ्नो गन्तव्यमा पाइला लम्काउँदै थिए ।
कोही कार्यालय पुगेर भर्खरै काम सुरु गर्न लागेका थिए । घडीको सुईले बिहानको ११ बजेर ०२ मिनेट गएको देखाइरहेको थियो । अमेरिकी बी २९ बम्बर आकाशमा भुनभुनी घुमिरहेको थियो । विमानले ढाडमा घातक कार्गो बोेकेको थियो । संसारले यसअगाडि नदेखेको डरलाग्दो हतियार थियो त्यो । विमान बिस्तारै आकाशबाट नागासाकी सहरनजिकै झर्न थाल्यो ।
नागासाकीवासीमा एक प्रकारको त्रास बढ्यो । विमान जति तल झथ्र्यो त्यति नै त्रास नागासाकीवासीमा देखिन्थ्यो । सहरभन्दा १६ सय ५० फिट (५ सय मिटर) माथिको उचाइमा उडेको विमानबाट फ्याट म्यान प्लुटोनियम बम बर्सियो । हावाको बहाव अकस्मात् सुस्त हुन थाल्यो । सम्पूर्ण नागासाकी सहरभर कोलाहल मच्चियो । धुवाँ र आगोको मुस्लोले सम्पूर्ण सहर ढाकियो ।
आगो छेल्न कोही मानिस नजिकका नदीमा हाम फाल्न थाले । कसैको उतिखेरै मृत्यु भयो भने कोही पानी–पानी भनेर चिच्याउँदै गर्दा प्राण गयो । ४ हजार डिग्री सेन्टिग्रेट ताप (७,२३२ फरेनाइट) ले सहरका अधिकांश भाग जलेर खरानीको पहाड बने । तापका कारण स्टिल र फलामसमेत पग्लिएका थिए ।
विस्फोटमा बाँच्नेहरूको झन् बिचल्ली भएको थियो । विकिरणका कारण प्रभावित मानिसको गिजाबाट रगत बग्न थाल्यो, धेरैको कपाल झरेर तक्लु बने, हजारौँमा क्यान्सरको जोखिम बढ्यो । गर्भवती महिलामध्ये अधिकांशको गर्भ तुहियो, कोहीले समय नपुग्दै बच्चा जन्माए, जन्मेका बच्चा पनि कुपोषणको सिकार बने ।
सोही हमलाको तीन दिनअघि अमेरिकाले हिरोसिमा सहरमा परमाणु बम खसाल्दा अन्दाजी १ लाख ४० हजार मानिसको चिहान भएको थियो । एटम बमको विकिरणका कारण घटनास्थलमा नै ती नागरिकको ज्यान गएको थियो भने अरू कैयौँ घाइते भएर बाँचेका थिए । हिरोसिमा विस्फोटपछि ४ सय डिग्री सेल्सियस राप भएको आगोको पर्खाल बनेको थियो ।
उनीहरूले निकै पछिसम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए । नागासाकी हमलाको एक सातापछि अर्थात् अगस्ट १५ मा जापानले द्वितीय विश्वयुद्धमा सहभागी गठबन्धन राष्ट्रहरूसमक्ष आत्मसमर्पण गरेको थियो । सोही वर्षको सेप्टेम्बर २ मा आत्मसमर्पण गरेको सम्झौतामा जापानले हस्ताक्षर गरेपछि विधिवत् रूपमा द्वितीय विश्वयुद्ध समाप्त भएको थियो ।