सिपिएलको डेब्यू खेलमै सन्दिपले ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए
-
साउन २५, २०७५ काठमाडौं ।
क्यारेबियन प्रिमियर लिग(सीपीएल) को डेब्यू खेलमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्।
लिग अन्तर्गत दोस्रो खेलमा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्स गुयना एमाजोन वारियर्ससँग ६ विकेटले पराजित भए पनि सन्दिपले व्यक्तिगत उच्च प्रदर्शन गरे।
आफ्नो टिमका लागि कसिलो बलिङ गरेका सन्दीप सबैभन्दा किफायती बलर पनि बने । ४ ओभर बलिङ गर्दै उनले केबल १२ रन मात्रै खर्चेर २ विकेट लिन पनि सफल भए ।
क्रिस गेलको कप्तानीमा रहेको सेन्ट नेभिस एण्ड प्याट्रिसको पहिलो खेलमा सन्दीपले गुएना अमेजन वारियर्स विरुद्ध ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए। उनले बलिङ गरेको पहिलो ओभरको पहिलो बलमै विकेट लिएका थिए।
उनले गुएना अमेजन वारियर्सका ओपनर चाडविक वाल्टनलाई बेन किटङको हातबाट क्याचआउट गराउँदै सिपिएलमा शानदार सुरुवात गरे। पहिलो ओभरमा ३ रन खर्चेर १ विकेट लिएका सन्दिपले दोस्रो ओभरमा मात्र १ रन खर्चिए।
सन्दीपले आफ्नो तेस्रो ओभरमा ४ रन खर्चिए भने चौथो ओभरमा दोस्रो विकेट लिँदै सनसनी मच्चाए।
उनले दशौं ओभरको दोस्रो बलमै गुएना अमेजन वारियर्सका जासोन मोहमम्दलाई टम कुपरको हातबाट क्याचआउट गराए। आफ्नो चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिए ।
यसअघि सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सले पहिले ब्याटिङ गर्दै तुलनात्मकरुपमा कमजोर प्रदर्शन गरेको थियो। निर्धारित २० ओभरको खेलमा उसले ५ विकेट गुमाउँदै मात्र १४५ रन बनाएको थियो। उसका लागि कप्तान क्रिस गेलले गतिलो पारी खेले पनि जिताउन सकेनन्। उनले ६५ बलमा ८६ रनको शानदार पारी खेले पनि अन्य खेलाडीले राम्रो स्कोर बनाउन नसक्दा पहिलो खेलमै हार व्यहोर्नुपर्यो।
१४६ रनको चुनौती पाएको गुएना वारियर्सले १७ औं ओभरमा ४ विकेट गुमाउँदै १४८ रन बनाएर जित दर्ता गर्न सफल भयो।