Trending :
 

यमनमा बालबालिका चढेको बसमाथि आक्रमण, २९ को मृत्यु

श्रावण २५,२०७५

-

 
साउन २५, २०७५ काठमाडौं । 
 
यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।
 
रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेको बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको जनाएको छ ।
 
तर हुथी विद्रोहीले ४३ को ज्यान गएको जनाएको छ । हुथी विद्रोहीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले ६१ जना आक्रमणमा घाइते भएको जनाएको छ । यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।
 
घटनामा कसको हात रहेको थियो र क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको पनि आइसीआरसीले जनाएको छ । गठबन्धनबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
 
राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने निकाय यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्युहुनेगरी भएको रिपोर्टले यूनिसेफ चिन्तित बनेको’ बताएको छ ।
 
गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका आइसीआरसीले बताएको छ ।
 
गठबन्धनले ती आक्रमणमा आफ्नो सम्लग्नता नरहेको बताउँदै आएको छ । यमनमा सन् २०१५ देखि शुरु भएको युद्धका कारण अहिलेसम्म १० हजारभन्दा बढी मानिसकोे मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ । राष्ट्रसङ्घले यमनमा मानवीय सङ्कट विश्वकै नराम्रो अवस्थामा रहेको जनाएको छ । एजेन्सी ।