अर्जेन्टिनाको सिनेटद्वारा गर्भपतनसम्बन्धी विधेयक अस्वीकृत
-
साउन २५, २०७५ एजेंसी
अर्जेन्टिनाको माथिल्लो सदन सिनेटले गर्भपतनसम्बन्धी विधेयकलाई अस्वीकृत गरेको छ । सो विधेयकसम्बन्धी सिनेटमा भएको मतदानमा बहुसंख्यक सदस्यले विधेयकको विपक्षमा मतदान गरेका हुन् ।
विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएपछि अर्जेन्टिनाका महिला अधिकारवादीहरू निराश बनेका छन् । गत जुन महिनामा महिलाले गर्भपतन गराउन पाउने विधेयकलाई संसद्को तल्लो सदनले पारित गरेको थियो । माथिल्लो सदनबाट अस्वीकृत भएपछि सो विधेयक स्वतः निष्क्रिय हुनेछ ।
विधेयकको विपक्षमा ३८ सिनेटरले मतदान गरेका थिए भने ३१ सिनेटरले पक्षमा मतदान गरेका थिए । मतदानमा ४ सिनेटर अनुपस्थित रहे । तल्लो सदनबाट विधेयक पारित हुँदा खुसी भएका महिलाहरू बिहीबार सिनेटको मतदानपछि दुखित बनेका स्थानीय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन् ।
तर, विधेयक अस्वीकृत भएपछि इसाई समुदाय हर्षविभोर भएको छ । अर्जेन्टिना इसाई धर्मगुरु पोप फ्रान्सिसको जन्मभूमिसमेत हो । आफ्नै चाहनामा रहेको १४ सातासम्म भ्रुणहत्या गराउन पाउने प्रावधान सो विधेयकमा उल्लेख थियो । तर, केही मानिसले विधेयकको विरोध गरेका थिए ।
गर्भपतनको अधिकार दिनुपर्छ भन्ने महिला अधिकारकर्मीहरूले भने सिनेटको निर्णयको विरोध गरेका छन् । विधेयक अस्वीकृत भएसँगै उनीहरूले सडक प्रदर्शन तीव्र पारेका छन् । उनीहरूले आँसु झारेका दृश्यहरू टेलिभिजनमा देखाइएको थियो ।
प्रदर्शनकारी र प्रहरीबीच केही स्थानमा मुठभेड भएको छ । प्रदर्शनकारी महिलाले सडकमै प्रहरीलाई ढुंगामुढा गरेका थिए । विधेयक अस्वीकृत गरेर सिनेटले गम्भीर भूल गरेको उनीहरूले आरोप लगाएका छन् ।