ओखलढुंगामा लाखेजात्रा प्रारम्भ
-
साउन २५, २०७५ काठमान्डौ
नेवारी समुदायको परम्परागत जात्रा लाखे ओखलढुंगामा सुरु भएको छ । हिलेजात्रा अन्तर्गत हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि सदरमुकामका दुईवटा गुठीले निकालेका हुन् ।
जनहित गुठी र पारस्परिक सहयोगी गुठीले निकालेको जात्राले सदरमुकाम बजारक्षेत्र यतिवेला उल्लासमय बनेको छ । लाखे पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्णजन्माष्टमी जात्रालगायत विभिन्न जात्रा देखाउने चलन छ ।
नेवारी समाजमा यो परापूर्वकालदेखि नै मनाइँदै आइएको पर्व हो । यो जात्रा नेवारी समुदायको मृत्युसंस्कार मध्येको एक पर्व हो । नेवारी समुदायमा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको भेषमा सिँगारेर बजार परिक्रमा गराउने गरिन्छ ।
बजार परिक्रमा गर्नेलाई श्रद्धालुले दूध, फलफूल, चिउरा, रोटी, दहीलगायत अन्न र द्रव्य दान गर्ने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरिमा मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने विश्वास रहेको पारस्परिक गुठीका जिन्दल श्रेष्ठले बताए ।
युवा सक्रिय
ओखलढुंगाका नेवार सामुदायका युवा आफ्नो संस्कृति र परम्परा जोगाउन जुटेका छन् । नेवारी समुदायमा आफ्नो संस्कृति र परम्परा लोप हुँदै गएको भन्दै युवाहरू संरक्षणमा जुटेका हुन् । संरक्षणको अभियानस्वरूप लाखेजात्रा प्रदर्शनमा आफूहरू जुटेको स्थानीय युवा प्रवीण शाक्यले बताए ।
शाक्य विगत १० वर्षदेखि लाखे बनेर नृत्य प्रदर्शन गर्दै संस्कृति धान्दै आएका छन् । लाखे अर्थात् जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन छ । जिल्लाको निशंखे, खानीभञ्ज्याङ, रुम्जाटारलगायत विभिन्न क्षेत्रमा पनि लाखेजात्रा निकाल्ने चलन छ ।
मनोरञ्जनको माध्यम
लाखेजात्रा नेवार जातिको संस्कृति भए पनि सबै जातजातिमा लोकप्रिय छ । यो संस्कृति र परम्परा लोकप्रिय भएकै कारण परम्परा संरक्षणमा राई, लामा, ब्राह्मण, क्षेत्रीलगायतले साथ दिने गरेको जनहित गुठिका बुद्ध श्रेष्ठको भनाइ छ ।
‘खास नेवारी समुदायको पर्व भनिए पनि ओखलढुंगामा यो सबैको साझा पर्वजस्तै छ,’ उनले भने, ‘बहुजातीय र बहुभाषिक समाजमा एउटा समुदायको पर्वमा अर्को समुदायको पनि सहभागिता हुनु राम्रो पक्ष हो ।’