Trending :
 

ईरानमा अमेरिकाको प्रतिबन्धले भारतको अर्थतन्त्रमा खतरा

श्रावण २५,२०७५

-

साउन २५, २०७५ एजेंसी
 
 
गत मे महिनामा आणविक सम्झौताबाट अमेरिका बाहिरिएसँगै ह्वाइटहाउसले ईरानमाथि आर्थिक प्रतिबन्ध जारी गरेको छ । 
 
यसैकारण अमेरिकाले ईरानसँग व्यापार गर्ने मुलुकलाई अमेरिकी कारोबारबाट समेत हटाइदिने धम्की दिएका हुन् । यस्तोमा अमेरिकाले अहिले ईरानबाट तेल निर्यात गर्ने प्रमुख देशहरुमाथि ठूलो दबाब दिइरहेको छ । जहाँ आणविक सम्झौतामा हस्ताक्षर गरेका मुलुकहरुले अझै पनि ईरानको समर्थन गरिरहेका छन् त्यहीँ अर्कोतर्फ भारत भने आफ्ना दुवै साझेदारसँगको सम्बन्ध सन्तुलनमा ल्याउने प्रयास गरिरहेको छ । 
 
गतवर्ष मात्र ईरानबाट ४० प्रतिशत तेल भित्र्याएर चीनपछिको सबैभन्दा ठूलो निर्यातकर्ता भएकाले नै अमेरिकी प्रतिबन्धको प्रत्यक्ष असर भारतमा पनि पर्ने देखिएकोे हो । 
 
भारतले २०१७ मा ईरानसँग १ अर्ब डलर भन्दा बढीको तेलजन्य उत्पादन खरिद गरेको थियो । त्यसैगरी ईरानका राष्ट्रपति हसन रोहानी गत फेब्रुअरीमा नै भारत भ्रमणमा आएका थिए भने प्रधानमन्त्री नरेन्द्र मोदी पनि दुई वर्ष अगाडि तेहरान पुगेका थिए । 
 
अर्कोतर्फ अमेरिकासँग पनि उत्तिकै नजिकी सम्बन्ध रहेकाले नै ह्वाइटहाउसले ईरानको व्यापारिक गतिविधि माथि नजर राख्न समेत भारतलाई जिम्मा दिने बताइरहेको छ । यसरी अमेरिकाले भारतलाई बारम्बार ईरानसँगको व्यापारिक सम्बन्ध अन्त्य गर्न आग्रह गरिरहेको छ । वास्तवमा अमेरिकामा भारतले ईरान भन्दा २५ गुना बढी निर्यात गर्ने हुनाले पनि दुवैतर्फबाट भारत संवेदनशील रहेको बताइएको हो ।
 
उता भारतसँग ईरानको भौगोलिक निकटताले अहिले उसको बढ्दो पेट्रोलियमको माग पूरा गरिरहेको हुँदा यी दुवै देशबीचको सम्बन्ध पनि प्रगाढ बन्न पुगेको हो । यसरी भारत र ईरानबीचको सम्बन्ध तेल निर्यातमा मात्र सिमित नभएर उद्योग धन्दामा पनि सक्रिय रहेको छ । सन् २०१५ मा ईरानसँग व्यापारिक सम्झौतामा हस्ताक्षर गर्दै भारतले ईरानको तेल उद्योगमा ठूलो लगानी गरेको थियो । 
 
जसले भारतलाई जलमार्गको पहुँच प्रदान गरेको छ किनकी जमिनतर्फको बाटोमा पाकिस्तान भारतको प्रमुख अवरोधक हो । यसैगरी भारतले ईरानलाई चामल र चिया जस्ता खाद्यान्नहरु पनि निर्यात गर्दै आएको छ ।  त्यसैले पनि अमेरिकी प्रतिबन्धले भारतमा धेरै ठूलो प्रभाव पार्ने बताइएको हो । 
 
यसको सबैभन्दा ठूलो परिणाम सर्वसाधारणले नै भोग्नु पर्ने हुँदा प्रधानमन्त्री मोदी अहिले ठूलो चिन्तामा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका हुन् ।