चीनले दुई सन्तान नीतिमा ठूलो परिवर्तन ल्याउने संकेत
-
साउन २५, २०७५ एजेंसी
जनसङ्ख्या सीमित गराउने दशकौँ अघि देखिको नीति परिवर्तन गर्दै चीनले अब आफ्ना नागरिकलाई दुई भन्दा बढी सन्तान जन्माउन पनि स्वीकृति दिने संकेत दिएको सीएनएनले जनाएको छ । अहिले नै चीनको अर्थतन्त्र र समाजमा कम जन्मदरको असर देखा पर्न थालिसकेको चिनियाँ कम्युनिष्ट पार्टीले चेतावनी दिइसकेको छ ।
यसअघि चीनले एकल सन्तानको नीति लागू गर्दा जन्मदर अत्यन्तै न्युन हुन पुगेपछि सन् २०१५ मा यसमा परिवर्तन ल्याइएको थियो । त्यसपछि मात्र त्यहाँका जनतालाई दुईजना सम्म जन्माउन पाउने अधिकार दिइएको हो । तर यसले पनि परिवार वृद्धिमा भनेजस्तो परिणाम नल्याएपछि सरकार थप चिन्तामा बताइएको छ । त्यसैकारण प्रभावकारी कदम उठाउन सरकारपक्षले नयाँ कानूनको योजनाबारे संकेत दिइसकेको छ ।
हालै मात्र सार्वजनिक गरिएको नयाँ वर्षको आधिकारिक स्ट्याम्पमा चीनले सुँगुरलाई प्रतिकका रुपमा प्रयोग गर्दै त्यसमा दुई नभएर तीन बालबालिकाको चित्र राखेको छ । यो वर्षदेखि चीनमा पारम्पारिक सुँगुरको वर्ष सुरु भएको हो । यसै हप्ता बाहिर ल्याइएको उक्त स्ट्याम्पले नै सरकारको उद्देश्य स्पष्ट पारेको छ । यो भन्दा अघिल्लोपटक बाँदरको वर्षमा भने चिनियाँ सरकारले बाँदरका साथ दुई सन्तानको चित्र राखेको थियो । जसपछि देखि नै चीनमा एकल सन्तान नीति हटेर दुईजनासम्म जन्माउन पाउने कानुन लागु भएको हो ।
पहिले देखि नै चीनमा बच्चा जन्माउनु पारिवारिक घटना मात्र नभएर राष्ट्रिय मुद्दा पनि रहँदै आएको छ । अहिले यसैका कारण सामाजिक संजालमा पनि विभिन्न प्रतिक्रिया आइरहेको छ । लामो समय देखि चीनको यस मुद्दामा अन्तराष्ट्रिय समुदायले पनि विशेष चासो राख्दै आएको छ । विशेषगरी बेइजिङको एकल सन्तान नीति पहिले धेरै नै विवादित मुद्दा बनेको थियो । किनकी यसले महिलाहरुलाई गर्भवतनका लागि बाध्य बनाउने गर्दथ्यो भने अर्कोतर्फ भारी जरीवाना पनि तिर्नुपर्ने हुँदा गरिब परिवारका लागि ठूलो समस्या बन्ने गरेको थियो ।
यति मात्र नभएर दोस्रो बच्चा जन्माएमा परिवारलाई समाजबाटै निकाल्ने चलन समेत प्रचलित थियो । त्यस्तै युवाहरुले वृद्ध अवस्थाका आमाबुवालाई हेर्नुपर्ने हुँदा एक्लो हुनुले धेरै दबाब पैदा गराउँथ्यो ।
अर्कोतर्फ कामदारहरुको सङ्ख्या कम हुँदै जाँदा अर्थतन्त्रमा पनि गम्भीर प्रभाव परिरहेको थियो । चीनमा अझैपनि वृद्धहरुका लागि पर्याप्त सहयोग उपलब्ध गराइएको छैन । त्यसैले यसमा सरकारले पनि वृद्धहरुको हकमा सेवा र सुविधाबारे ठोस कदम उठाउनु पर्ने सर्वसाधारणहरुको गुनासो छ ।
यसरी चीनले परिवार नीतिमा अहिलेसम्मकै ठूलो परिवर्तन ल्याउने तयारी गरिरहेको छ । तर यस्तो नीति कुनै समय एक सन्तान मात्र जन्माउन बाध्य महिलाहरुका लागि भने अन्यायपूर्ण साबित हुने उल्लेख गरिएको छ । त्यसैगरी यसले लैङ्गिक विभेद पनि बढाउने जोखिम देखिन्छ । किनकी अहिले नै अधिकांश कम्पनीहरुले महिला कामदारको खोजी गर्दा सुत्केरी खर्चबाट बच्न बच्चा जन्माएकालाई मात्र केन्द्रित गर्ने गरेको पाइन्छ । यो तरिका एकल सन्तान नीतिकै समयदेखि अपनाइँदै आएको थियो जसबेला कम्पनीले बालबच्चा नभएका महिलाहरुलाई काम नदिने समस्या वृद्धि भएको थियो ।