वरिष्ठ राजनीतिज्ञ तथा द्रबिड आन्दोलनका योद्धा एम करुणानिधिको मृत्युपछि भारतको दक्षिणी राज्य तमिलनाडु अहिले शोकमग्न छ । उनको निधनसँगै सिंगो भारतले एक आदर्श राजनीतिज्ञ गुमाएको छ । मृत्युपर्यन्त राजनीतिमा सक्रिय उनको मंगलबार साँझ ९४ वर्षको उमेरमा निधन भएको थियो । राजनीति र लेखनलाई सँगै बढाएका करुणानिधिको मृत्युपछि एक विलक्षण लेखकको पनि अवसान भएको छ ।
जस्टिस पार्टीमा आबद्ध
करुणानिधिको जन्म तमिलनाडुको थिरुक्कुभलाई गाउँमा सन् १९२९ मा भएको थियो । औसत स्तरको पढाइ भएका उनले विद्यालय तहको अध्ययन भने पूरा गरेनन् । उनले १४ वर्षको उमेरमा नै औपचारिक शिक्षालाई पूर्णविराम लगाइदिए ।
औपचारिक अध्ययन समाप्त भए पनि अनौपचारिक शिक्षा र लेखनलाई भने निरन्तरता दिए । विद्यालय छोडेको वर्ष नै उनी जस्टिस पार्टीको भगिनी संगठनमा आबद्ध भए । सोही समयदेखि नै उनको सार्वजनिक जीवन सुरु भएको थियो ।
जस्टिस पार्टीले तमिल मुद्दालाई सशक्त रूपमा उजागर गरेको थियो । समग्र भारतले ब्रिटिस शासनविरुद्ध स्वतन्त्रता आन्दोलन चलाइरहेका वेला जस्टिस पार्टीले वर्गवाद, धार्मिक रुढिवाद र दक्षिण भारतमा विद्यमान जातीय धारणालाई चुनौती दिएको थियो ।
उनले द्रभिडा मुनेत्रा काझागाम (डिएमके) पार्टी स्थापनामा सहयोग गरे । सन् १९४९ मा जस्टिस पार्टीबाट विभाजित एउटा समूहले डिएमके स्थापना गरेको थियो । करुणानिधिले सन् १९६९ देखि मृत्युपर्यन्त डिएमकेको नेतृत्व गरे ।
राष्ट्रिय राजनीतिमा प्रभाव
करुणानिधिको उग्रवादी धारणाले सधैँ उनको भलाइ गरेन । छिमेकी श्रीलंकाको विखण्डनकारी लिब्रेसन टाइगर्स अफ तमिल इलाम (लिट्टे) प्रति उनको सहानुभूतिले उनले मुख्यमन्त्रीको पद गुमाउनुपरेको थियो ।
तर, सो झड्काका बाबजुद करुणानिधि राजनीतिक कूटिलतामा निरन्तर ‘मास्टर’ बने । केन्द्रीय राजनीतिमा बारम्बार आलोचनात्मक भूमिका खेले । तत्कालीन प्रधानमन्त्री पिभी नरसिंहको नेसनल फ्रन्टसँग गठबन्धन गरेर करुणानिधिले राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव जमाएका थिए ।
सन् १९९० मा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले नेतृत्व गरेको गठबन्धन सरकारमा उनको पार्टी डिएमके सहभागी भएको थियो । सन् २००४ मा कंग्रेस नेतृत्वको सरकारमा सहभागी भएकाले डिएमकेले केन्द्रीय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको थियो ।
तमिलनाडु राजनीतिको नाटकीय संसारमा उनले भ्रष्टाचार अभियोगको सामना गरे । राजनीतिक प्रतिद्वन्द्वी जयललिथाको निर्देशनमा उनलाई मध्यरातमा पक्राउ गरियो । उनीमाथि नातावाद र कृपावादको आरोप लाग्यो ।
उनीमाथि वंश राजनीतिलाई प्रश्रय दिएको आरोप लागेको छ । उनका छोरा र छोरी पार्टीको महत्वपूर्ण नेतृत्वमा छन् । पाँचपटक मुख्यमन्त्री बनेका करुणानिधि कर्नाटक राज्यका १३ विधानसभा निर्वाचनमा विजयी भएका थिए ।
विलक्षण लेखक
सडक नाटकदेखि फिल्मलेखनमा सक्रिय करुणानिधि अतुलनीय लेखक थिए । समर्थकहरूमाझ करुणानिधि कलाइगनर अथवा कलाकारका रूपमा परिचित थिए । तमिल सिनेमा र साहित्यमा करुणानिधिले पुर्याएको योगदानको उनका राजनीतिक प्रतिद्वन्द्वीले पनि प्रशंसा गर्थे ।
सन् १९५२ मा उनले पराशक्ति नामक तमिल फिल्मका लागि पटकथा र संवाद लेखेका थिए । सो फिल्म यति ‘हिट’ भयो कि सम्पूर्ण तमिल सिनेमामा नै कम्पन ल्याइदियो । तमिल आप्रवासी परिवारमा केन्द्रित सो फिल्मले शोषित जातीय संरचनाको कटु आलोचना गरेको छ ।
कथाले समाजमा जातीय द्वन्द्व फैलाएको भन्दै समाजकै एउटा पक्षबाट चलचित्रको विरोध मात्र भएन, प्रतिबन्ध लगाउन दबाब बढ्यो । विरोधका बाबजुद फिल्म रिलिज भयो । भारतीय सिनेमा जगतमै त्यसले हलचल ल्याइदियो ।
करुणानिधिले ३० भन्दा बढी चलचित्रको कथा, लघु उपन्यास, कविता, ऐतिहासिक उपन्यास लेखेका छन् । त्यसबाहेक उनले तमिल पत्रपत्रिकामा नियमितजसो लेख लेख्थे । प्रतिद्वन्द्वी एमजी रामचन्द्रन र जयललिथाका जस्ता अन्धा समर्थक करुणानिधिका कहिल्यै भएनन्, तर समर्थकहरूमाझ उनी जहिल्यै पनि प्रतिष्ठित व्यक्तिका रूपमा रहे ।
जातीय सर्वोच्चताविरुद्ध अभियान
युवा अवस्थामा करुणानिधिले ब्राह्मणहरूको जातीय सर्वोच्चताविरुद्ध अभियान चलाए । दक्षिणी भारतमा हिन्दीलाई आधिकारिक भाषा मान्ने केन्द्रीय सरकारको कदमको खुलेर विरोध गरे । सो पार्टी अहिले तमिलनाडुमा सबैभन्दा प्रभावकारी राजीतिक शक्ति सिद्ध भएको छ । युवा कार्यकर्ताको रूपमा उनले देशमा विद्यमान जातीय वर्गीकरणलाई कडा चुनौती दिए ।
उनी आत्मसम्मान आन्दोलनको आदर्शबाट प्रेरित भए, जसले यस्तो समाजको परिकल्पना गर्यो, जहाँ पिछडिएका वर्गहरूको पनि समान अधिकार हुन्छ । करुणानिधि : ए लाइफ इन पोल्टिक्स नामक जीवनीमा उनी आत्मसम्मान आन्दोलनका नेताहरूको भाषण गर्ने खुबीबाट निकै प्रभावित भएको बताएका छन् ।
‘द्रबिड आन्दोलनका संस्थापक नेता पेरियारको तर्क, अजागिरीको साहसी अभिव्यक्ति, अन्नाको सुन्दर तमिलले मलाई मन्त्रमुग्ध बनाएको थियो,’ उनले लेखेका छन् ।