Trending :
 

उत्तरी यमनमा हवाई आक्रमणमा परि २९ बालबालिकाको मृत्यु

श्रावण २५,२०७५

-

साउन २५, २०७५ एजेंसी
 
 
उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा २९ बालबालिकाको मृत्यु भएको छ । साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जानकारी दिएको छ ।
 
संयुक्त गठबन्धनका प्रवक्ता तुर्कि अल–मलिकीले साउदी अरेबियामाथि हुथी विद्रोहीले घातक क्षेप्यास्त्र प्रहार गरेको बदलामा कारबाही गरिएको दाबी गरे । उनले भने, ‘बसमा हुथी विद्रोही चढेको आशंका गरिए पनि आक्रमणमा बालबालिका परेका हुन् ।’
 
स्थानीय यमनी अस्पतालका अनुसार हालसम्म २९ बालबालिकाको शव प्राप्त भइसकेको छ । ती बालबालिका १५ वर्षमुनिका छन् । आक्रमणमा ३० बालबालिकासहित ४८ जना घाइते भएको आइसीआरसीले जानकारी दिएको छ ।
 
घाइते बालबालिकाको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घाइते र मृतकलाई फरक अस्पतालमा राखिएकाले मृतकको सही विवरण प्राप्त नभएको रेडक्रसका प्रवक्ताले जानकारी दिएका छन् ।
 
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र अमेरिकी विदेश मन्त्रालयले घटनाको स्वतन्त्र छानबिनका लागि आह्वान गरेका छन् । निर्दोषमाथि यस्तो आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानूनले पनि निन्दनीय मान्दछ ।