अन्तरिक्ष सैन्यबल गठन गर्दै अमेरिका
-
साउन २७, २०७५ एजेंसी
अमेरिकाले अन्तरिक्ष सैन्यबल गठन गर्ने तयारी गरेको छ । उपराष्ट्रपति माइक पेन्सले अमेरिकी अन्तरिक्ष सैन्यबल (स्पेस फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका हुन् । अन्तरिक्षमा सैन्यबल गठनपछि विशाल अमेरिकी सेनाको यो छैटौँ विभाग हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि अन्तरिक्षमा सैन्यबल निर्माण गर्न आदेश दिएका थिए । अन्तरिक्षका जोखिमसँग जुध्न र उपग्रहीय कक्षमा अमेरिकी प्रभाव स्थापित गर्न सैनिक बल आवश्यक रहेको उनले बताएका थिए ।
अन्तरिक्ष सैन्यविभाग गठनमा अमेरिकी तल्लो सदन कंग्रेसको स्वीकृति आवश्यक पर्दछ । सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसद र प्रतिरक्षा अधिकारीले बताउँदै आएका छन् । तर, उपराष्ट्रपति पेन्स यो अभियानलाई यथार्थमा रूपान्तरण गर्न सकिनेमा विश्वस्त छन् । यो विभाग सन् २०२० सम्ममा गठन भइसक्ने उनले बताए । सोही वर्ष ट्रम्पको कार्यकाल समाप्त हुनेछ ।
‘हाम्रो सैन्यबलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,’ पेन्सले भने । चिनियाँ गतिविधिलाई नियन्त्रण गर्न पनि अन्तरिक्षमा सेना आवश्यक रहेको उपराष्ट्रपति पेन्सले बताए । ‘चीन र रसियाले अन्तरिक केन्द्रमा उच्च प्रविधियुक्त क्रियाकलाप जारी राखेका छन्, जसले हाम्रा भूउपग्रहको नजिकसम्म पुगेर अवाञ्छित क्रियाकलाप गर्न थालेको पाइएको छ । यसबाट हाम्रो अन्तरिक्ष प्रणालीमै नयाँ खतरा निम्त्याउन थालिसकेको छ,’ पेन्सले भने ।
नेभी, कोस्ट गार्ड, मरिन कप्र्स, आर्मी र एयर फोर्स गरी पाँचवटा सुरक्षा विभाग छन् । डेमोक्रेटिक सिनेटर ब्रायन साट्जले भने ट्रम्पको योजना कार्यान्वयनमा नआउने प्रतिक्रिया दिए ।