चीनमा १० लाख अल्पसंख्यक नियन्त्रणमा : राष्ट्रसंघ
-
साउन २७, २०७५ एजेंसी
चीनले १० लाख अल्पसंख्यक उहिगुर मुसलमानलाई नियन्त्रणमा लिएर जबरजस्ती शिविरमा राखिएको विवरण सार्वजनिक भएको छ । राष्ट्रसंघको जातीय विभेद अन्त्यसम्बन्धी एक समितिकी सदस्य गे म्याक डोउगालले सो विवरण सार्वजनिक गरेकी हुन् । बेइजिङमा सम्पन्न राष्ट्रसंघको दुईदिने बैठकमा बोल्दै डोउगालले चीनमा अल्पसंख्यक मुसलमानमाथि अमानवीय व्यवहार हुने गरेको बताइन् । बेइजिङले उहिगुर स्वायत्त क्षेत्रलाई कैद शिविरको रूपमा रूपान्तरण गरेको विवरणप्रति राष्ट्रसंघको चासो बढेको उनले बताइन् । राष्ट्रसंघको सो भनाइप्रति चीनले भने कुनै जवाफ दिएको छैन । बेइजिङले यसअघि अल्पसंख्यक मुसलमानमाथि कुनै अमानवीय व्यवहार नभएको बताएको थियो ।
उहिगुरमाथि चीनको रवैयालाई लिएर राष्ट्रसंघका प्रतिनिधिले सोमबार बेइजिङसँग सोधपुछ गर्ने भएका छन् । स्विट्जरल्यान्डको जेनेभामा जारी राष्ट्रसंघको बैठकमा चीनले गरेको मानवअधिकार हननबारे राष्ट्रसंघका प्रतिनिधिले गम्भीर बहस गरेका छन् ।
सिनजियाङ र उहिगुर
उहिगुर चीनका अल्पसंख्यक जातीय मुसलमान हुन् । चीनको सिनजियाङ प्रान्तमा उनीहरूको बाहुल्य छ । अन्य केही प्रान्तमा पनि उनीहरू बसोवास गर्छन् । सिनजियाङको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या उहिगुरको छ । तिब्बतजस्तै सिनजियाङ पनि चीनको स्वायत्त क्षेत्र हो । उहिगुर र अन्य अल्पसंख्यक मुस्लिम समुदायलाई सिनजियाङमा विभिन्न शिविरमा कैद गरिएका विवरण लामो समयदेखि सार्वजनिक हुँदै आएका छन् ।
बेइजिङमाथि के आरोप लागेको छ ?
एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइटवाचलगायत मानवअधिकारवादी समूहले राष्ट्रसंघको जातीय विभेद अन्त्यसम्बन्धी समितिमा पेस गरेको विवरणअनुसार सिनजियाङका विभिन्न स्थानमा उहिगुर मुसलमानलाई विभिन्न शिविरमा थुनेर चरम यातना दिइएको छ । उनीहरूलाई राष्ट्रपति सी जिन पिङप्रति बफादार बन्न निरन्तर दबाब दिइने गरेको छ । उहिगुरलाई विना कुनै अभियोग लामो समयदेखि शिविरमा थुनिएको र चिनियाँ कम्युनिस्ट पार्टीको नारा घोक्न बाध्य पारिएको विश्व उहिगुर कंग्रेसले आफ्नो प्रतिवेदनमा जनाइएको छ । उनीहरूलाई निम्नस्तरको खानेकुरा दिइएको र दिनहुँजसो बर्बर यातना दिइएको सो प्रतिवेदनमा भनिएको छ । थुनिएका कोही पनि आपराधिक क्रियाकलापमा संलग्न नभएको र धार्मिक अतिवाद रोक्ने बहानामा चीनले विभिन्न शिविर स्थापना गरेको प्रतिवेदनमा उल्लेख छ ।
मुसलमान र प्रहरीबीच झडप
चीनमा पछिल्ला समयमा धार्मिक तनावका विवरण सार्वजनिक भइरहेका वेला राष्ट्रसंघले उहिगुर मुस्लिमबारे चासो देखाएको हो । उत्तरी पश्चिम निङजिया क्षेत्रमा सयाँै मुसलमान र प्रहरी अधिकारीबीच झडप भएको थियो । प्रहरीले मुसलमानहरूको पवित्र मस्जिद भत्काउन खोजेपछि शुक्रबार दिउँसोभर सो क्षेत्रमा झडप भएको थियो । नवनिर्मित विजहु ग्रान्ड मस्जिद बनाउन उचित अनुमति नपाएको अधिकारीले बताएका छन् । चीनमा मुसलमानप्रति सरकारी रवैया पूर्वाग्रही भएको अधिकारवादीहरूले बताउँदै आएका छन् । सरकारले धार्मिक गतिविधिमा कडाइ गरेको छ ।