स्तनपान गराउँदा युवतीले पाइन् चेतावनी
-
साउन २७, २०७५ एजेंसी
महिलाहरूले आफ्ना नवजात शिशुलाई सार्वजनिक स्थानमा स्तनपान गराउँदा निश्चय नै असहज महसुस गर्छन् । त्यति हुँदाहुँदै पनि कहिलेकाहीँ उनीहरू भिडभाड र सार्वजनिक क्षेत्रमा आफ्ना शिशुलाई दूध चुसाउन बाध्य हुन्छन् । त्यस्तो अवस्थामा कसैले चेतावनी दियो भने स्तनपान गराइरहेका महिलाले कस्तो महसुस गर्लान् ? सन्दर्भ अमेरिकाको टेक्सासकी एक महिलाको हो ।
उनी सार्वजनिक स्थानमा थिइन् । तर, शिशु रोएर हत्ते गरेपछि झटपट ब्रा खोलेर स्तपान गराउन बाध्य भइन् । उनीनजिकै बसेका एक पुरुषले उनलाई ‘लाज ढाक्न’ आग्रह गर्छन् । हत्तपत्त महिलाले एउटा सलले आफ्नो अनुहार छोपेर स्तपान गराउँछिन् । अनुहार ढाकेर स्तनपान गराएको सो तस्बिर इन्टरनेटमा अहिले भाइरल बनेको छ । महिलाको सो तस्बिरलाई २ लाख १० हजारले सेयर गरेका छन् । जुलाई ३१ मा पोस्ट गरिएको सो तस्बिरमा अहिलेसम्म २ लाख २० हजारले प्रतिक्रिया जनाएका छन् ।
‘सार्वजनिक स्थलमा स्तनपान गराउँदा एकजना साथीको बुहारीलाई लाज ढाक्न भनियो । उनले सम्पूर्ण अनुहार ढाकेर आफ्नो शिशुलाई दूध चुसाइन्,’ फेसबुक प्रयोकर्ता कारोल लकउडले सो तस्बिर पोस्ट गरेर विवरण लेखेकी छिन् ।
तस्बिरमा देखाइएकी महिलाको नाम मेलानी डुड्ले हो । एक स्थानीय सञ्चारमाध्यमका अनुसार उनी सम्भव भएसम्म सधैँ आफ्नो तीन महिने ती बालकलाई स्तन छोपेर नै दूध चुसाउँछिन् । तर, तस्बिर खिचेको दिन उनलाई निकै गर्मी महसुस भएको थियो । बच्चालाई पनि पसिना आएकाले स्तन नछोपी दूध चुसाएकी थिइन् । सोही वेला एक अज्ञात व्यक्तिले उनलाई स्तन छोप्न निर्देशन दिए । ती व्यक्तिको निर्देशनले महिला सुरुमा त दुखित बनिन्, तर विकल्प थिएन । ‘मसँग कुनै शब्द थिएन । तसर्थ झटपट अनुहार ढाकेँ,’ उनले भनिन् । तत्कालै उनका पतिले पत्नीको तस्बिर खिचे र साथीलाई दिए । साथीले फेसबुकमा पोस्ट गरेपछि अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । ‘यो सन् २०१८ हो । उनले अनुहार ढाकेर स्तनपान गराएकी छिन् । हामी यस्तो ढर्रायुक्त संसारमा बाचेका छौँ,’ एक प्रयोगकर्ता टिप्पणी गर्छन् ।