नासाको सफलता :
सूर्य नजिक पुग्ने यन्त्र प्रक्षेपण, ६ लाख ९० हजार किमि प्रतिघन्टाको तीव्रता
-
साउन २७, २०७५ बिबिसी
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले केही दिन अघि मात्र सूर्यलाई इतिहासकै सबैभन्दा नजिकबाट अध्ययन गर्न पठाउने भनेको उपकरण आइतबार फ्लोरिडाबाट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
शनिबार बिहानै प्रक्षेपण गरिने तय भएको भएपनि अन्तिम समयमा आएर सो योजना २४ घन्टाका लागि स्थगित गरिएको थियो ।
‘पार्कर सोलार प्रोब’ नामक सो यन्त्र ईतिहासकै सबैभन्दा तीव्र गतिमा चल्ने मानव निर्मित वस्तु हुने नासाको दाबी छ जुन ६ लाख ९० हजार किमि प्रतिघन्टाको रफ्तारमा यात्रा गर्ने उनीहरु बताउँछन् । शनिबार भने लन्च हुनै लाग्दा अन्तिम समयमा गणना गर्ने घडीमा अवरोध देखा परेपछि अधिकारीहरुले पुनः अनुसन्धान गरेका थिए । यस्तोमा नासासँग लन्च हुन ६५ मिनेट अगाडिदेखिको मौसम अवस्थाबारे मात्र सबै जानकारी थियो तर अनुसन्धान निकै लामो समयसम्म जारी रहेपछि शनिबार यसलाई लन्च गर्न नमिलेको वैज्ञानिकहरुले जानकारी दिएका थिए ।
अहिले लन्च भइसकेको पार्करलाई सिधै सूर्यको बाहिरी मण्डलमा पुर्याएर हालसम्मकै नजिकको दुरीबाट अनुसन्धान गर्ने नासाको लक्ष्य रहेको छ । यस अध्ययनपछि प्राप्त हुने डाटाले सूर्यबारे लामो समयदेखिका रहस्यहरु खुलाउने नासाको दाबी छ । हालसम्मको अध्ययनले सूर्य १ हजार डिग्री भन्दा बढीको तापमानमा निश्चित समयसम्म बलिरहन सक्छ भन्ने साबित गरेको थियो । तर यसबारे विस्तृत जानकारी कसैले पनि हासिल गर्न सकेको छैन ।
त्यसैले पार्कर पहिले अन्तरिक्षस्थित शुक्र ग्रह हुँदै सूर्यसम्म पुग्ने बताइएको छ । शुक्र ग्रहसम्म पुग्नै यसलाई ६ हप्ता लाग्नेछ भने त्यहाँबाट फेरि सूर्यसम्मको यात्रा पनि ६ हप्ताकै हुने बताइएको हो । यसपछि सात वर्षको अवधिमा पार्कर सोलार प्रोबले सूर्यको वरिपरि २४ चक्कर लगाउने र त्यसको बाहिरी सतहबारे पूर्ण अध्ययन गर्ने बताइएको हो । यस क्रममा पार्कर सूर्यबाट केबल ६१ लाख किलोमिटरको दुरीमा मात्र हुने वैज्ञानिकहरुको भनाइ छ । यसमा संलग्न विशिष्ट बेलायती वैज्ञानिक डाक्टर निकी फक्सले भनिन्, ‘यो दुरी हामीलाई धेरै नजिक जस्तो नलागेपनि यसको अर्थ सूर्य र पृथ्वी एक मिटरको दुरीमा भएको भए पार्कर प्रोब सूर्यबाट केबल ४ सेन्टिमिटर टाढा मात्र हुने थियो । ’
त्यसैले वास्तविक दुरीलाई हेरेर त्यसलाई ज्यादै नजिक मान्न सकिने उनी बताउँछिन् ।
यस प्रकारको योजना ६० वर्ष अघि नै बनाइएको थियो । तर अहिले मात्र यसका लागि आवश्यक इन्जिनियर र प्रविधि उपलब्ध भएको हुँदा सूर्यलाई नजिकबाट अध्ययन गर्ने मौका मिलेको बताइएको छ । तरपनि सूर्य बलिरहेको आगो भन्दा धेरै धेरै गुना बढी तापक्रमको हुने हुँदा पार्करलाई यस कार्यमा जोगाइ राख्नु सबैभन्दा ठूलो चुनौती थियो । तरपनि यसैका लागि ४।५ इन्च मोटो कार्बनबाट बनाइएको ढालले बाहिर जतिनै धेरै तापमान भएपनि त्यस भित्रका सबै भागहरुलाई ३० डिग्री भन्दा माथि पुग्न नदिने बताइएको छ । जसकारण भित्री उपकरण सुरक्षित रहने हुँदा योजना सफल हुने बताइएको हो ।
यसका साथै पार्कर सोलारबाट चल्नेछ जसमा पनि केही समस्याहरु आउन सक्ने बताइएको छ भने सूर्यको नजिकै अत्याधिक विकिरणरु उत्सर्जन भइरहने हुँदा त्यसले पार्करलाई सम्पर्क विहिन पार्न सक्ने खतरा पनि उत्तिकै रहेको छ । त्यसैले यसलाई आफैँ उपयुक्त प्रणाली अपनाएर भित्री व्यवस्था मिलाउन सक्ने किसिमको क्षमता प्रदान गरिएको बताइएको छ । त्यसैगरी सूर्यको २५०० डिग्रीको अत्याधिक तापक्रमबाट बच्नलाई भने पार्करको कार्बनको प्रतिरोधक मात्र सूर्य तर्फ फर्किनेछ । यसरी पहिलोपटक नासाको कुनै उपकरण सूर्यबाट बुध ग्रह भन्दा नजिक पुग्ने भएको हो ।