Trending :
 

बार्सिलोनालाई १३औं पटक स्पेनिस सुपरकप

श्रावण २८,२०७५

-

 साउन २८, २०७५ काठमाडौँ ।
 
सेभिल्लालाई हराउँदै बार्सिलोनाले १३औं पटक स्पेनिस सुपरकपको उपाधि जितेको छ।
 
सोमबार बिहान भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई २–१ ले हराउँदै ३२ औं संस्करणको स्पेनिस सुपरकपको उपाधि जितेको हो।
 
लिओनल मेसीको नेतृत्वमा रहेको बार्सिलोनालाई १३ औं पटक सुपरकप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले गोल गरेका थिए। यसअघि सेभिल्लाका लागि पाब्लो सारावियाले गोल गरे। 
 
बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो।
 
खेलको नवौ मिनेटमा पाब्लो साराबियाले गोल गरेपछि सेभिल्लाले खेलमा अग्रता लियो। तर, खेलको ४२ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनाले पहिलो हाफमा बराबरीमा ल्याए।
 
दोस्रो हाफमा थप एक गोल गर्दै बार्साले उपाधि रक्षा गरेको हो। खेलको ७८ औं मिनेटमा औसमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए।
 
खेलको इन्जुरी समयमा सेभिल्ला पाएको पेनाल्टी मिस भएपछि बार्सिलोनाले खेल २–१ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भए।
 
इन्जुरी समयमा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले एलेक्स भिडाललाई लाएपछि सेभिल्लाले पेनाल्टी पाएको थियो।
 
सेभिल्लाका विसाम विन यडरको पेनाल्टी प्रहार बार्साका गोलरक्षक स्टेगनले बचाएपछि बार्सिलोनाले उपाधि रक्षा गरेको हो।
 
बार्सिलोनाका लागि यो सिजनको पहिलो उपाधि हो। गतवर्ष बार्सिलोनाले स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो।
 
योसँगै बार्सिलोना स्पेनिस सुपरकप सर्वाधिक जित्ने टोली बनेको छ। २२ पटक फाइनल पुगेको बार्सिलोनाको यो १३ औं उपाधि हो।
 
स्पेनिस फुटबल फेडेरेसनले ला लिगा च्याम्पियन र कोपा डेल रे च्याम्पियन टोलीबीच सुपरकपको आयोजना गर्ने गर्छ। एजेन्सी