२०१९ को चुनावमा पुनःनिर्वाचित हुनेमा नरेन्द्र मोदी विश्वस्त
-
साउन २८, २०७५ एजेंसी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २०१९ को चुनावमा अहिलेको भन्दा बढ मतका साथ विजयी भएर पुनः निर्वाचित हुनेमा विश्वस्त रहेको उल्लेख गरका छन् । उता विपक्षीहरुले उनलाई आर्थिक विकास र युवाका लागि पूर्ण रोजगारीको वचन पूरा गर्न नसकेको आरोप लगाइरहँदा उनले यस्तो बयान दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
टाइम्स अफ इन्डियाले प्रकाशित गरेको अन्तर्वार्तामा आइतबार भारतीय जनता पार्टीद्वारा नेतृत्व सरकारले सबै नागरिकहरुको जीवन स्तरमा उल्लेखनीय सुधार ल्याउने प्रतिबद्धता जनाउँदै आएको बताइएको छ ।
तर पछिल्लो समय मोदी सरकारले ठूलो सङ्ख्यामा रहेका मुसलमानहरुलाई लक्षित गरि भारतको धर्मनिरपेक्ष संविधानलाई कमजोर बनाउन खोजिरहेको आरोप छ ।
तरपनि उनले भनेका छन्, ‘अर्कोपटक हामीले निश्चित रुपमा यो भन्दा बढी पद प्राप्त गर्नेछौँ । मलाई विश्वास छ कि हामीले एनडीएको रेकर्डलाई समेत तोड्दै विगतको भन्दा अझ ठूलो जित हासिल गर्नेछौँ । सबै मानिस हाम्रो साथमा छन् त्यसकारण हामीलाई कुनै कुराको डर छैन ।’
मोदी अझै आफ्नो नेतृत्वलाई लिएर सकारात्मक रहँदै आएपनि विगतका केही महिनामा स्थानीय चुनावमा उनको पार्टीले भने नराम्रो हार बेहोर्नु परेको थयो । यसैकारण पनि अहिले उनका विपक्षीहरु उनी विरुद्धका कार्यहरुमा सक्रिय एवम् उत्साहित हुँदै लागिरहेका छन् ।
मोदीले भने लामो समयदेखि नै आफ्नो पहिलो प्राथमिकता केबल विकास र सबै क्षेत्रको विकास मात्र रहेको बताउने गरेका छन् । आफूहरुले पछिल्लो चार वर्ष धेरै मिहिनेत गरेको र त्यसको फल स्वरुप जनताले पक्कै पनि भविष्यमा विकासको अनूभूति गर्ने उनको भनाइ छ ।
अर्कोतर्फ विपक्षी पार्टी कांग्रेसले भने विभिन्न समुदाय र धार्मिक पार्टीका कार्यकर्ताहरुलाई मोदी विरुद्धको अभियानमा लगाउन निकै जोड दिइरहेको पाइएको छ । उता मोदीको पार्टीले चाहिँ मुसल्मान समुदाय विरुद्ध आफूले कुनैपनि किसिमको विभेद नगरेको दाबी गर्ने गरेको छ ।