स्विस कुकुरलाई किन जुत्ता लगाउन भनियो ?
-
साउन २८, २०७५ एजेंसी
स्विट्जरल्यान्डको जुरिच सहरका प्रहरीले कुकुरलाई जुत्ता किनिदिन उनीहरूका मालिकलाई आग्रह गरेका छन् । उच्च तापक्रमबाट कुकुरको पन्जा जोगाउन प्रहरीले उनीहरूका मालिकलाई यस्तो निर्देशन दिएको हो । गर्मीमा कुकुरको रक्षा गर्न स्विस प्रहरीले पछिल्लो समय ‘हट डग अभियान’ नै चलाएको छ ।
स्विट्जरल्यान्डमा अत्यधिक तापका कारण सडकका पेटीमा खुट्टा राख्नसमेत कठिनाइ छ । युरोपेली मुलुक स्विट्जरल्यान्डमा सन् १९८४ यताकै सबैभन्दा गर्मी भएको रेकर्ड गरिएको छ । यो जुलाईमा यहाँको तापक्रम ३० डिग्री सेल्सियस पुगेको थियो । स्विस इन्फो समाचार संस्थाका अनुसार देशका केही भागमा ठूलो खडेरी परेको छ ।
जुरिच प्रहरी प्रवक्ता मिसेल वाकरका अनुसार वायुमा ३० डिग्री तापक्रम स्थलमा ५५ डिग्रीजस्तै तातो महसुस हुन्छ र सडकमा हिँड्ने जन्तुले समेत असहज महसुस गर्छन् । ‘तातो सडक किनारमा हिँड्दा मानिसको नांगो खुट्टाजस्तै कुकुरको खुट्टा पनि पोल्छ,’ उनले भने ।
कुकरलाई बाहिर लिएर घुम्नुअगाडि सडक अत्यधिक तातो छ वा छैन भन्नेबारेमा विचार पुर्याउन जुरिच सहरको प्रहरीले अनुरोध गरेको छ । कुकुरलाई सडकमा हिँडाउनुअघि आफ्ना हातको पछाडिको भाग पाँच सेकेन्डसम्म सडकमा राखेर परीक्षण गर्न पनि उनीहरूले सर्वसाधारणलाई सुझाब दिएका छन् ।
कुकुरलाई तातो कारमा नछोड्न र उनीहरूलाई पर्याप्त पानी खुवाउन पनि सुझाब दिइएको छ । ‘अत्यधिक गर्मी बढेकाले कुकुरलाई सडकमा हिँडाउँदा जुत्ता अनिवार्य लगाइदिन आग्रह गरिन्छ,’ प्रहरीको फेसबुक पेजमा भनिएको छ । प्रहरीको अभियानलाई सयौँ फेसबुक प्रयोगकर्ताले प्रशंसा गरेका छन् । प्रहरीले केही न्यानो जुत्ता लगाएका कुकुरको तस्बिर सार्वजनिक गरेको छ ।