क्यास्पियन सागर तेल र ग्यासको भण्डार
-
साउन २८, २०७५ एजेंसी
अजरबैजान, इरान, कजाकस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरू क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने गरी तयार पारिएको एक सम्झौतामा हस्ताक्षर गर्न कजाकिस्तानको तटीय सहर आक्टुमा भेला भएका छन् । सोभियत संघ विघटन भएपछि सीमाको कानुनी वैधताका विषयमा दुई दशकभन्दा बढी समयदेखि क्यास्पियन सागरबारे विद्यमान पाँच विवाद यहाँ उल्लेख गरिएको छ ।
विशाल भित्री सागर
क्यास्पियन सागर विश्वमै जमिनले घेरेको सबैभन्दा ठूलो जलक्षेत्र हो । करिब ७०,००० क्युबिक किलोमिटर पानी रहेको यो क्यास्पियन सागर उत्तर तथा बाल्टिक सागरभन्दा दुई गुना ठूलो छ । यस क्षेत्रका मुलुकहरूबीच क्यास्पियन सागर हो वा सरोवर हो भन्नेमा लामो विवाद छ, जसका कारण कानुनी विवाद खडा हुने गरेको छ ।
यो सागरबाट कुनै पनि नदी सुरु हुँदैनन् र यसलाई जमिनले घेरेको छ । त्यहीकारण, यो सरोवर वा तालको रूपमा रहेको मान्न सकिन्छ । नयाँ मस्यौदा सम्झौतामा यसलाई सागर नै भनी परिभाषित गरिएको छ र रसियाले आफूसँग विशेष कानुनी हैसियत रहेको भनिरहेको छ ।
ऊर्जाको भण्डार
क्यास्पियन सागरमाथि सबैको आँखा गाडिनुको अर्को प्रमुख कारण यहाँ रहेको अथाह ऊर्जा हो । अमेरिकी ऊर्जा सूचना प्रशासनको सन् २०१२ को पछिल्लो अनुमानअनुसार, यहाँ ४८ अर्ब ब्यारेल तेल र २९२ खर्ब क्युबिक फिट प्राकृतिक ग्यास छ । यो अथाह इन्धन क्यस्पियन सागर र त्यसवरपरको जमिनभित्र छ ।
क्यास्पियनको सबैभन्दा ठूलो तेल खानी, कजाकिस्तानको कासागानसँग १३ अर्ब ब्यारेल खनिज तेलको भण्डार छ । सन् २००० मा पत्ता लागेको यस भण्डारण यो देशकै आजसम्म पत्ता लागेको सबैभन्दा ठूलो तेल र ग्यास भण्डार हो । पानीभित्रको सतहबाट इन्धन उत्खनन गर्नु र त्यसलाई बजारसम्म पु(याउनु त्यति सहज छैन, र कासागान परियोजनाले समयमै उत्खनन गर्न नसक्दा ‘भिल्लको देशमा मणि’झैँ साबित भएको छ ।
सर्वाधिक महँगा माछा
क्यास्पियन सागरमा विश्वमै सबैभन्दा महँगा र स्वादिला माछाको भण्डार नै छ । यी माछाका भुरा सागरको दक्षिणतर्फ पाइन्छन् । तर, वातावरणविद्ले यहाँ अत्यधिक माछा मार्ने गर्दा माछाको प्रजाति नै नष्ट हुने खतरा औँल्याउन थालेका छन् । अबको सम्झौताले यी माछाको संरक्षणमा ठोस काम हुने छलफलमा सहभागी देशका नेताहरूको भनाइ छ । गिनिज वल्र्ड रेकर्डअनुसार, इरानतर्फ यी माछाको मूल्य प्रतिकिलो २५,००० अमेरिकी डलरसम्म हुने गरेको छ ।
नारनियासँगको सम्पर्क
बेलायती लेखक सिएस लेविसले बालबालिकाका लागि लेखिएको लोकप्रिय पुस्तक ‘क्रोनिकल्स अफ नारनिया’ मा नाविक राजकुमार क्यास्पियनलाई एक पात्रका रूपमा उभ्याएका छन्, तर यसको सम्बन्ध प्रमाण भने छैन । पुस्तकले यस क्षेत्रका धेरै भाषा र संस्कृतिलाई जोडेको पाइन्छ ।
सागरको तटीय व्यवस्थापन
क्यास्पियन सागरको वरिपरिको अव्यवस्थित परिस्थितिले पर्यटकलाई सबै मुलुकले आकर्षित गर्न सकेका छैनन् । केवल तुर्कमेनिस्तान र अजरबैजानका स्थानीयले मात्र तटीय लाभ लिइरहेका छन् । यी दुई मुलुकले क्यास्पियन पर्यटनका लागि लगानी बढाएका छन्, र यो स्थानीय तहमा मात्र केन्द्रित छ ।
तथापि, पौडी खेल्न तटीय इलाकाहरू कतिसम्म सुरक्षित गर्न सकिएला ? सागरको वरिपरिका धेरै ठाउँ प्रदूषित छन् र औद्योगिक प्रदूषण पनि बढ्दो छ । हालैका वर्षहरूमा, अजरबैजान र रसियाको डागेस्तान क्षेत्रका अधिकारीहरूले कतिपय बिचहरू पौडी खेल्न असुरक्षित रहेको घोषणा गरेका छन् ।