नागपंचमी विशेष
नागपंचमी र यसको महिमा
-माधव प्रसाद गर्तौला
साउन ३०, २०७५ काठमाण्डौ
पूर्वीयदर्शन धेरै फराकिलो छ । विज्ञानको स्रोत मानवदेखि सूक्ष्मभन्दा सूक्ष्म प्राणिहरुको समेत पूजा गर्दै आफ्नो धर्म संस्कृति र कलाको मौलिक संरक्षण गर्नु पूर्वीय चिन्तनको व्यापकता हो । यसले न केवल परम्परा धान्ने अपितु जीवनपर्यन्त र त्यसपछिका दिनसम्म पनि उज्यालो र सार्थक बनाउने प्रयास समेत गरेको छ । श्रावणको आरम्भदेखि नै शुरु हुने चाडपर्वहरु मध्ये अहिले हामी नागपंचमी विशेषमा आइपुगेका छौं । श्रावणशुक्लपंचमीको दिन घरवरिपरिको परिवेश र समग्र वातावरण पवित्र पार्ने क्रममा नागको पूजा गर्ने विशेष पर्व नै नागपंचमी हो ।
श्रावणशुक्लपंचमीका दिन नागको विशेष चित्र लेखेर दूध, दही, लाबासमेतले पूजा गरी घरका मूल ढोकाहरुमा नाग टाँस्ने कार्य हुन्छ । हरेक देवदेवीहरुको मूर्ति, चित्रहरुबाट जीवनका लागि आवश्यक नवऊर्जा प्राप्त हुन्छ । देवी- देवता तथा मठ-मन्दिरमा प्रवेश, पूजा- अर्चना, दर्शन, चिन्तनमनन गर्नुको मूल उद्देश्य सकारात्मक सोच नै हो । प्रत्येक पल हरेक मूर्ति, चित्र, आदिबाट सकारात्मक तथा नकारात्मक दुबै ऊर्जाहरु प्रवाह भैरहन्छन् ।
सदैव सकारात्मक ऊर्जा प्राप्तिका लागि मठ-मन्दिर, मूर्ति-चित्रको अवस्थामा पनि ध्यान दिनुपर्ने हुन्छ । पूर्वीय दर्शनले यस बारेमा उद्बोधन गर्दै नागको शिर भाद्र, आश्विन र कार्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसिर, पुष, तथा माघमा दक्षिणतिर हुन्छ । त्यस्तै फागुन, चैत्र, वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने ज्यॆष्ठ, आषाढ र श्रावणमा नागको शिर उत्तरदिशातर्फ हुन्छ । नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ ।
समग्र भूमण्डललाई शेषनागले धारण गरेको कथन पनि पूर्वीय चिन्तनमा स्पष्ट उल्लेख छ । पानीमा नाग बस्ने र पृथ्वीको गर्भभित्र धेरै पानी नै भएकाले सो कुराको पुष्टि पनि हुन्छ । आफ्ना वरिपरि नागको प्रवेश भइरहने र बेला बखत पूजा-अर्चना गर्नाले अग्नि, चट्यांग, विद्युतीय विस्फोट आदिको भय हुँदैन । सर्प जातिलाई नाग भनिन्छ र नागलाई सर्पहरुको राजा मानिन्छ । जहाँ नागहरु हुन्नन् त्यहाँ पानी हुँदैन । पानीबिना कुनै पनि प्राणी बाँच्न सक्दैनन् । घरको जग हाल्दा वा वास्तुपूजा गर्दा नागको सर्वप्रथम पूजा गर्ने चलन छ । किनकि नाग खुसी भए लक्ष्मी-धन को वर्षा हुन्छ । सुख समृद्धि र आरोग्य चाहनेले नागको विशेष अर्चन् गर्नुपर्ने हुन्छ ।
वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिको रुपमा लिइएको छ । पांचायन देवतामध्ये शिवको गलामा नाग, विष्णुको शैयामा नाग, गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ । त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन कृष्णका दाजु बलराम पनि शेषनागका प्रतीक नै हुन् ।
भगवान् श्रीकृष्णले बाल्यकालमा कालीय नागको दमन गरेकाले जीवनको उषाकाल वा किशोर अवस्थामै विषतुल्य प्रदूषणलाई हटाइसक्नुपर्ने संकेत प्राप्त हुन्छ । त्यस्तै सत्ययुगीन् समुद्र मन्थनको प्रसंगले शेषनागको घाँटीमा रहेको हलाहल विष ओकली सकेपछि मात्र अमृत प्राप्त भएको कथानक भेटिन्छ । नागका विभिन्न नामहरु छन्- अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, धृतराष्ट्र, शंखपाल, तक्षक, कालीय आदि ।
अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम् ।
धृतराष्ट्रं शंखपालं तक्षकं कालियं तथा ।।
एतानि नव नामानि नागानां च महात्मनाम् ।
सायंकाले पठेन्नित्यं प्रातस्काले विशेषत: ।।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवेत् ।।
सर्वे नागा: प्रीयन्तां मे ये केचित् पृथिवीतले ।
ये च हेलिमरीचिस्था येन्तरे दिवि संस्थिता: ।l
ये नदीषु महानागा ये सरस्वतिगामिन: ।
ये च वापीतडागेषु तेषु सर्वेषु वै नम: ।।
सर्पगायत्री-मंत्र-
ॐ नागकूलाय विद्महे विषदन्ताय धीमहि तन्नो सर्प: प्रचोदयात् ।
प्रत्येक दिन मानवले यी नागका नाम स्मरण गरे भने जीवनमा कहिल्यै पनि सर्पको भय हुँदैन ।
यस दिन नाग देवताको पूजन गर्नाले सबै खालका दुःख र रोग व्याधिहरु नष्ट भएर जान्छन् भन्ने धार्मिक विश्वास रहँदै आएको छ । नागपंचमी आफैंमा एक महत्वपुर्ण पर्व हो यसको उपासना र पुजाले मानिसमा शान्ति, समृद्धिजस्ता कुराहरु सहजै उपलब्ध हुन्छन् भनि पुराणहरुमा उल्लेख गरिएको छ । यस पटकको नागपंचमी सन् १९८० पछिको सबैभन्दा महत्वपुर्ण बन्ने ज्योतिषीहरुले बताएका छन् । यस दिन चित्रा नक्षत्र, शुभ योग एवम कन्या राशिमा चन्द्रमा रहने भएको छ। साथै सूर्य, राहु, र बुधले कर्कट राशिमा प्रवेश गर्नेछन् । यस दिन विशेष विधि अपनाएर उपासना गरियो भने तपाईं सर्पदोषबाट मुक्त हुन सक्नुहुनेछ ।
सबैभन्दा पहिले नागपंचीको दिन सर्पलाई देवता को रूपमा पूजा गर्नुपर्दछ भन्ने कुराको जानकारी तपाईंलाई हुनुपर्छ । यस दिन गरिने पुजा एक विशेष प्रकारको हुन्छ । पुजा गर्नुभन्दा पहिले बिहानै उठेर प्रातः कालीन शौचादिक्रिया गरि, पवित्र भई, सुन, चाँदी अथवा तामाद्वारा निर्मित नाग र नागिनको प्रतिमालाई पंचोपचार अथवा शोडषोपचारले पूजन गरि उपासना गर्नु पर्दछ ।
यसरी पुजा गरिसके पछि सर्पको रुप धारण गरेका नाग नागिनलाई पंचामृतद्वारा ( विशेष गरि दूधद्वारा) अभिषेक गरी अन्त्यमा कुनै शिवलिगंमा चढाउनुपर्छ । यदि तपाईं शिवलिंगमा चढाउन असमर्थ हुनुहुन्छ भने धातुबाट बनेका नाग नागिनलाई कुनै नदीमा लगेर प्रवाहित पनि गर्न सक्नुहुन्छ ।