सन्दीपको प्रदर्शन उत्कृष्ट , प्याट्रियट्सको दोस्रो हार
-
साउन ३१, २०७५ काठमाडौं ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शनलाई जारी राखेका छन्।
सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सिपीएल खेलिरहेका सन्दीपले आफ्नो तेस्रो खेलमा ४ ओभरमा २१ रन खर्चिएर २ विकेट लिएका छन्।
जमैका तल्वाहासविरुद्ध बिहिबार बिहान भएको खेलमा सन्दीपले पुरै ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएका थिए।
सन्दीपले पहिलो ओभरमा १० रन खर्चिएका सन्दिपले दोस्रो ओभरमा आठ रन खर्चेर २ विकेट लिए। एकै ओभरमा दुई विकेट लिएका उनले लुइस र म्याकार्थेलाई आउट गरेका थिए।
योसँगै सन्दिपको सीपीएल क्रिकेटमा पाँचौ विकेट हो।
यसअघिको दोस्रो खेलमा ३ ओभर बलिङ गरेका सन्दीपले १७ रन खर्चिएर एक विकेट लिएका थिए।
त्यसअघि डेब्यू खेलमा ४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर २ विकेट लिएका थिए।
जमैकाविरुद्ध सन्दीपले २ विकेट लिए पनि प्याट्रियट्सले खेल गुमाएको छ। सन्दीपको टिम प्याट्रियट्सलाई जमैकाले ४७ रनले हराएको हो। प्याट्रियट्सको यो दोस्रो हार हो ।
जमाइकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल खडा गरेको थियो। जवाफमा प्याट्रियट्सले ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्र बनाउन सक्यो।
उसका लागि कप्तान क्रिस गेलले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। बंगलादेशी खेलाडी महमुल्लाहले २२ तथा सेल्ड्रोन कोट्रेलले १८ रन बनाएका थिए। सन्दिपले समेत ११औं नम्बरमा ब्याटिङ गरेको खेलमा नटआउट खेल्दै २ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १७८ रन जोडेको थियो । जमैकाका लागि रोस टेलरले अविजित ५१ रन जोड्दा केन्नर लेविस ४९ रन जोडे । यस्तै ग्लेन फिलिप्सले ४१ रन बनाए ।
यो हारपछि सीपीएल क्रिकेटमा सन्दीपको टिम प्याट्रियट्स ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ । जितपछि जमैका ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।
इन्डियन प्रिमियर लिगमा (आईपीएल) दिल्ली डेयरडेभिल्समा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए।
सन्दीपलाई प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो । एजेन्सी