Trending :
 

अण्डा सेवन गर्दा जान्नै पर्ने केहि कुरा

भाद्र ०१,२०७५

-

१ भदौ, २०७५ काठमाण्डौ
 
 
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? 
 
चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ । आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ । बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ । उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन । तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुुराबाट प्राप्त हुने पोषकतत्वबाट वन्चित रहनु हो ।’
 
यहीकारण डाइटिसियनहरु सन्तुलित भोजनमा ध्यान दिन्छन् ।
 
चिकित्सकका अनुसार दैनिक भोजनमा अन्य खालका प्रोटीन पनि हुन्छन् । खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले मृगौलामा खराब असर गर्ने डर हुन्छ । 
अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ मा हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो । नेशनल हेल्थ सर्भिसका अनुसार अण्डामा केही कोलेस्टेरोल त हुन्छ तर  हाम्रो रगतमा पाइने कोलेस्टेरोलभन्दा कम हुन्छ । अर्को हिसाबले भन्ने हो भने अण्डामा पाइने कोलेस्टेरोल ठूलो समस्या होइन । स्याचुरेटेड फ्याट बनेको कोलेस्टेरोलचाहिँ ठूलो समस्या हो । 
 
मुटुसम्बन्धी बेलायती संस्थाका अनुसार एउटा अण्डामा ४.६ ग्राम अर्थात् एक चम्चा बोसो हुन्छ । तर यसको एक चौथाई भागमात्र स्याचुरेटेड हुन्छ । यसको मतलब अण्डाकै कारण  शरीरको कोलेस्टेरोलमा ठूलो असर पर्दैन भन्ने हो । तर अण्डासँग मख्खन या क्रिम खानाले अर्को नतिजा निस्कन्छ ।  
 
बेलायतका पूर्व स्वास्थ्यमन्त्री एडिविना कुरील सन् १९८८ को डिसेम्बरमा बेलायतमा उत्पादन भएका अधिकांश अण्डामा साल्मोनेला ब्याक्टेरिया हुने बताएकी थिइन् । यो ब्याक्टेरिया स्वास्थ्यका लागि खतरनाक मानिन्छ । स्वास्थ्यमन्त्रीको यो भनाईपछि त्यतिबेला बेलायतमा निकै हलचल मच्चिएको थियो । केहीसमयपछि एडविनाले राजीनामा नै दिनुपरेको थियो । तर साल्मोनेलाको मामलामा बेलायतको अण्डा आजकाल विश्वकै सुरक्षित मानिन्छ । बेलायती बजारमा पाइने अण्डामा लायन चिन्ह छ भने त्यसको अर्थ कुखुरालाई साल्मोनेलाबाट बच्ने इन्जेक्सन दिइसकिएको छ । गतवर्ष यो अण्डा गर्भवती र बच्चाका लागि सुरक्षित रहेको घोषणा गरिएको थियो ।  
 
विशेषज्ञ भन्छन्, ‘अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा निकै कम हुन्छ, यसैले यसको सेवनका लागि डराउनुपर्ने कारण छैन ।’
 
डाइटिसियनका अनुसार अण्डा खानुछ भने सादा तरिकाले उमालेर खानुपर्छ । अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ ।
 
यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन । किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ । यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ । अण्डाको सेतो भागलाइ डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने  पहेंलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ ।  
 
ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ?
 
अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ । त्यसमा अण्डा हाल्नुपर्छ । यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन । कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ । 
 
अण्डाको एलर्जी 
 
केही व्यक्तिलाई अण्डाको एलर्जी हुन्छ खासगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई यस्तो समस्या हुन्छ । अण्डाका एलर्जीका केही लक्षण-
 
मुख वरिपरी रातो हुनु या सुन्निनु
पेट दुख्ने
बान्ता हुने 
 
यस्तो एलर्जी ज्यान लिने खालको हुँदैंन । तर एलर्जी  भए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ l डा. फिलिप्स भन्छन्, ‘एलर्जी' नभएका व्यक्तिले कुनै पनि प्रकारले अण्डा खान सक्छन् ।