श्रीमान्–श्रीमतीबीच विवाद, कहिँ तपाईलाई ‘हाइपोमेनिया’ रोग त लागेको छैन ?
-
१ भदौ, २०७५ काठमाण्डौ
हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलिरहने हुन्छन् । आफ्ना कुरामा जिद्द गर्ने र भनेको नमान्ने, अपशब्द बोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधैं चञ्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो हुन्छ ।
हाइपोमेनिया रोग लाग्दा श्रीमान्–श्रीमतीबीच चर्को विवाद भएको पाइन्छ । यतिसम्म कि यसकै कारण बारम्बार कुटपिट भइरहने र उनीहरू छुट्टाछुट्टै बस्न पुगेका उदाहरण पनि छन् ।
सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहा नै हुँदैन । बिस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डयुक्त कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने जस्ता अनैतिक कार्यले मात्र यो रोग लागेको रहेछ भन्ने थाहा पाउन सकिन्छ l (यस्ता अवान्छनीय व्यवहारले संकेतका काम गर्छन्) सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिँदैन ।
यस्ता बिरामी एउटै कुरामा स्थिर रहँदैनन् । एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छन् । आनन्दी कुरामा दिन बिताउँछन् । म राजा बन्छु, म प्रधानमन्त्री बन्छु, म नेता बन्छु जस्ता अपत्यारिला कुरा गर्छन् ।
पैसा बाँड्ने, कुरा बढाइचढाइ बोल्ने, राति थोरै समयमात्र सुत्ने, गीत गाउने, रातो–पहेँलो रंगीन लुगा लगाउन रुचाउने लक्षण पनि उनीहहरूमा देखिन्छ । यो रोग पटकपटक दोहोरिने भएकाले राम्रो विचार पुर्याउन जरुरी छ । रोग लागेर यस्तो भएको कुरा सुुरुमा थाहा पाइँदैन, जसबाट बिरामी वा परिवारमा अनेकौं घटना हुन सक्छन् । मेनिया भनेको हाइपोमेनियाभन्दा कडा अवस्था हुने रोग हो ।
बिरामीका केही उदाहरण
सुमित्रा २५ वर्षकी महिला हुन् । विवाह भएको दुई वर्ष भयो । अहिले उनी श्रीमान् तथा परिवारसँंग छिन् । तर उनमा छिट्टै रिसाउने, जिद्दी र तर्क गर्ने, एउटा काममा स्थिर नरहने समस्या छ । यसका कारण श्रीमान् तथा परिवारका अन्य सदस्यसँग उनको भनाभन भइरहन्छ । उनी कहिले रिस खप्न नसकेर रुन्छिन् त कहिले अरूलाई अपशब्द बोल्छिन् । परिवारको सदस्यसँग उनको सम्बन्ध टाढिँदै गएको छ । कहिलेकाहीँ उनी ठूलाठूला कुरा गर्छिन् । उनमा राति निद्रा पनि राम्रो पर्दैन । श्रीमान्सँग दिनहुँ कलह भइरहन्छ । उनी बढी फुर्तिलो देखिन्छिन् तर यो रोग लागेको हो भनेर चिन्न कठिन छ । अस्पताल लागेपछि मात्र थाहा भयो, उनलाई त हाइपोमेनिया रोग लागेको रहेछ ।
उमा १६ वर्षकी किशोरी हुन् । ९ कक्षामा पढ्ने उनी १० दिनयता फरक देखिएकी छिन् । आजकल उनी बढी बोलिरहन्छिन् । छिट्टै रिसाउँछिन् । सिँगारपटार खुब गर्छिन् । भन्छिन्, ‘म तीन दिनभित्र प्रधानमन्त्री बन्नेछु ।’ आफूलाई फुर्तिलो, सिपालु, जोसिलो र राम्री ठान्छिन् उनी । उनमा तडकभडक निकै छ । विवाह गर्ने कुरा पटकपटक गर्छिन् । एउटा काम नसक्दै अर्को सुरु गर्छिन् । उनले भनेको नमानेमा पिट्छिन् । राति दुई–तीन घन्टा सुतेपछि उठ्छिन र रेडियो, टिभी खोलेर अरूलाई डिस्टर्ब गर्छिन् । उनी मिठो खानेकुरा र पैसा मागिरहन्छिन् । अनि आफू धनी भएको फुर्ति उडाउँछिन् ।
हाइपोमेनिया रोगका केहि लक्षणहरु-
घमण्डी बन्ने, बढी फुर्ती लगाई कुरा गर्ने ।
आफूलाई बिरामी भन्न रुचाउँने ।
धेरै खुसी हुने तर भनेको नमाने झनक्क रिसाउने, पिट्ने ।
बढी आशावादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
मिठो खानेकुरा माग गर्ने, राम्रोराम्रो रंगीन लुगा लगाउने ।
बढी पैसा माग्ने वा खर्च गर्ने ।
पटकपटक ऐना हेरिरहने ।
दुई–तीन घन्टा सुते पनि निद्रा पुग्ने ।
यौनमा बढी रुचि हुने ।
एउटा काम सुुरु गर्न नपाउँदै अर्को थाल्ने वा छटपट हुने ।
वर्षौंसम्म रक्सी पिउने, घरपरिवारसंग झगडा गर्ने, परपुरुष या परस्त्रीसंग शारीरिक सम्पर्क गर्ने तथा घरै छाडेर हिँडिदिने ।
उपचार-
रोगको शंका लागेपछि बिरामीलाई रिस उठ्ने किसिमको व्यवहार नगर्ने तथा अस्पताल लगी सम्बन्धित विशेषज्ञको सरसल्लाह लिई उपचार गर्ने ।
यो रोग एकपटक सुरु भएपछि अर्कोपटक दोहोरिने समस्या ७०–८० प्रतिशत रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्कोपटक दोहोरिँदा कहिले पहिलेकै लक्षण देखिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसनको लक्षण दिक्क हुने, रुने, मर्छु भन्ने, राति निदाउन कठिन हुने हुन्छ । हाइपोमेनिया रोग बढ्दा बिरामीले औषधि लिन मान्दैनन् । त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ ।