१८ औं एसियाली खेलकुदः
पाकिस्तानलाई ३-१ ले पराजित गर्दै नेपाल पुरुष ब्याडमिन्टनको क्वाटरफाइनलमा
-
भदौ ३,२०७५ जकार्ता ।
१८ औं एसियाली खेलकुदको ब्याडमिन्टन पुरुष टिम इभेन्टमा आइतबार विजयी हुँदै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाली खेलाडीले पाकिस्तानलाई ३-१ ले हराएका छन् ।
टिममा नेपालका रत्नजित तामाङ, दीपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले टिम इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।
रत्नजितले मोहम्मद इरफान सइद भाटी २-०, दीपेशले अजिम सरवारलाई २-०, नवीनले रिजवान अजमलाई २-१ को सेटमा हराए भने सिंगलतर्फ खेल्दा दिपेश र रत्जजितको जोडी रिजवान र कसिफ अली सुलेरीको जोडीसँग २-१ को सेटमा हारेको थियो ।
महिला टिम इभेन्टको अन्तिम १६ मा नेपाल आइतबारै माल्दिभ्ससँग ३–२ को सेटमा पराजित भएको थियो । नेपालबाट नङसल तामाङ, अमिता गिरी, जेसिका गुरुङ र रसिला महर्जनले प्रतिस्पर्धा गरेका थिए ।
निमाको प्रदर्शनमा सुधार
१८ औं एसियाली खेलकुदको पहिलो स्वर्ण पदक चीनका उसु खेलाडी पेइयुयान सनले जितेका छन् ।
आइतबार पुरुष छान छ्वानबाट स्वर्ण जितेका हुन् । सनले ९ दशमलब ७५ अंक बटुल्दै इन्डोनेसिया एसियाडको पहिलो स्वर्ण आफ्नो देशमा भित्र्याएका छन् ।
आयोजक राष्ट्रका इडगर जाभियर मार्भेलोले ९ दशमलब ७२ अंक र चाइनिज ताइपेईका सेमिन तिसाईले ९ दशमलब ७० अंक बटुल्दै रजत र कांस्य पदक जितेका थिए ।
यसै इभेन्टमा प्रतिस्पर्धा गरेका नेपाली खेलाडी विजय सिन्जली १४ औं स्थानमा रहे ।
१७ खेलाडीले प्रतिस्पर्धा गर्दा विजयले ८ दशमलब २५ अंक बटुलेर उक्त स्थान हासिल गरे । उनीभन्दा पछाडि अफगानिस्तान, यमन र पाकिस्तानका खेलाडी रहे ।
१२ औं साग खेलकुदमा रजत जित्दा विजयले ८ दशमलब ८० अंंकको प्रदर्शन गरेका थिए । त्यतिखेर श्रीलंकन खेलाडीले ८ दशमलब ८६ अंक ल्याएर स्वर्ण जितेको थियो ।
सागकी स्वर्ण विजेता निमा घर्तीमगर ११ औं स्थानमा रहिन् । महिला नान छ्वानमा उनी पुछारबाट दोस्रोमा रहेकी छन् । उनले ८.७० अंक बटुलेकी थिइन् ।
उनको अलराउन्डको प्रतिस्पर्धा बाँकी नै छ । उक्त इभेन्ट सोमबार हुनेछ । दुवैको प्रदर्शनपछि मात्र उक्त इभेन्टको नतिजा आउनेछ ।