Trending :
 

यी हुन् स्वस्थ रहने २७ तरिका

भाद्र ०३,२०७५

-

३ भदौ, २०७५ काठमाण्डौ l
 
 
स्वस्थ भएर बाँच्न पाउनु हरेक मानवको जन्मसिद्ध अधिकार हो । प्रकृतिले स्वस्थ भएर बाँच्न सबै व्यवस्था मिलाएको छ । तर, हाम्रै अज्ञानताले गर्दा हामी रोगको शिकार भइरहेका छौं । हामी प्रकृतिसँग जति टाढा हुन्छौं, त्यति नै रोगको शिकार हुन्छौं । हाम्रो दिनचर्या जति प्रकृतिको नियमसंगत् हुन्छ त्यति नै निरोगी हुन्छौं । तल प्रस्तुत नियम पालना गरौं र निरोगीको बाटोमा अग्रसर होऔं । 
 
१. राति १० बजेभित्र सुत्ने र बिहान सूर्योदयपूर्व उठ्ने गरौं ।
 
२. निद्रा खुलेलगत्तै आँखा खोल्नुपूर्व ‘आज म सकारात्मक भएर दिन बिताउँछु’ भन्ने संकल्प गरौं ।
 
३. आँखा नखोलीकन दायाँ कोल्टे फेर्दै उठौं र पँलेटी कससेर बसौं । ५–१० मिनेटसम्म स्वभाविक रूपमा चलिरहेको श्वास–प्रश्वासमाथि कुनै अवरोध नपुर्याई श्वासमै केन्द्रित ध्यान गरौं । हत्केला रगडेर तातो बनाई अनुहारमा हत्केलाहरूले मलौं र हत्केलालाई हेर्दै बिस्तारै आँखा उघारौं ।
 
४. दिसा गर्न जानु पहिले तामाको भाँडामा राखेको पानी १–२ गिलास पिऔं ।
 
५. दिसाका लागि निश्चित समय बनाऔं । दिसा गर्दा जोड वा बल गरेर गर्ने नगरौं । दिसा गरिसकेपछि गुदद्वार १०–१५ पटक सङ्कुचन गर्ने गरौं ।
 
६. दिसा वा पिसाब लागेपछि नरोकौं । रोक्ने बानीले पछि रोग निम्याउँछ ।
 
७. दाँत मञ्जन गर्दा नरम ब्रसको प्रयोग गर्ने र हलुकासँग तल, माथि र घुमाएर मञ्जन गर्ने गरौं । मञ्जन गरेपछि औंलाले गिजा रगटेर सफा गर्ने गरौं । यसोगर्दा दाँत बलियो हुन्छ ।
 
८. दैनिक छोटो स्नान गरौं । खाना खानुभन्दा १ घन्टा पहिले, खाना खाएको ३ घन्टापछि र पसिना आएको छ भने सुकेपछि मात्र स्नान गरौं । खस्रो सुतीको कपडाले घर्षण गर्दै स्नान गर्ने गरौं ।
 
९. समय र मौसमअनुकूल भएमा बिहान र बेलुकाको घाममा १५–२० मिनेट अतिआवश्यक कपडा मात्र लगाएर घाम ताप्ने गरौं ।
 
१०. नियमित रूपमा स्वास्थ्य रक्षाका लागि बिहान १ देखि साढे १ घन्टासम्मको समय आफ्ना लागि निकालौं । सो समयमा आसन, प्राणायाम, ध्यान र व्यायाम गर्ने गरौं । व्यायामका रूपमा बिहान ३५ मिनेट जति हिँड्डुल-मर्निङ वाक गरौं । यसका लागि प्राकृतिक, रमणीय, खुला र एकान्त स्थान हुनुपर्छ । हिँडडुल गर्दा गहिरो र लामो श्वास लिने र फाल्ने गरौं ।
 
११. भोक लागेको बेला मात्र खाने र खाँदा पेटमा बोझ नहुने गरी चपाई–चपाई खाने गरौं ।
 
१२. दिनको ३–४ लिटर पानी नियमित पिउने गरौं। १ घन्टामा १ गिलासका दरले पिउने गरौं । खाना खानुभन्दा आधा घन्टा पहिले र खाएको १ घन्टापछि मात्र, फलफूल खानुभन्दा आधा घन्टा पहिले र खाएको आधा घन्टापछि मात्र पानी पिउने बानी बसालौं ।
 
१३. नास्तामा मौसम अनुसारको ताजा फलफूल, अंकुरित अन्न, मह–पानी वा कागती–पानी खाऔं । बिहानको खानाः चोक्कर भएको गहुँको रोटी, दलिया वा नफलेको चामल (ब्राउन राइस) र २–३ किसिमको तरकारी खाने गरौं । दाल अंकुरित गरी पकाएको मुङ, चना वा गेडागुडी खाने गरौं । सलाद, गाजर, मुला, काँक्रा, बन्दा, सलगम, गोलभेंडा, धनियाँ पात, पुदिना आदि खाने गरौं । 
खाजामा फलको रस, फलफूल वा सलाद खाने गरौं । खानामा रोटी-भातको मात्रा २०–४० प्रतिशत र तरकारीको मात्रा ६०–८० प्रतिशत हुनुपर्छ ।
 
१४. मैदाको सट्टा चोक्कर सहितको गहँ-जौको पिठो, सेतो भातको सट्टा ब्राउन राइस र सेतो चिनीको विकल्पमा खैरो चिनी-गुँड-खैरो सख्खर प्रयोग गर्ने गरौं । 
 
१५. खानापछि १० मिनेट बज्रासनमा बस्ने गरौं । सुरुमा जति समय सकिन्छ त्यति बसौं । पछि समय बढाउँदै १० मिनेट पुर्‍याऔं ।
 
१६. रातिको खाना सुत्नुभन्दा ३ घन्टा अगाडि खाने गरौं । खाना खाने ठाउँ शान्त राखौं । टिभी, रेडियो बन्द गरौं ।
 
१७. भावनात्मक आवेग (रिस, दुःख, तनाव, पिर) शान्त भएपछि मात्र खाना खाने गरौं । प्रशन्न, शान्त, खुसी मनले खाना खाने गरौं ।
 
१८. सुतीको सफा कपडा लगाउने गरौं । ऊनीको कपडा सुतीको कपडामाथि मात्र लगाउने गरौं । पेटी र पटुका हलुका कस्ने गरौं । हिल नभएको जुत्ता मात्र लगाऔं । हिल भएको जुत्ताले नसा, ढाड तथा गर्धन दुख्ने, महिलामा पाठेघरको रोग र अनियमित महिनावारीको समस्या हुन्छ ।
 
१९. दिनमा सुत्ने बानी त्यागौं । सुत्नै परे बढीमा ३० मिनेट मात्र सुत्ने गरौं । 
 
२०. तनावबाट मुक्त हुन सकारात्मक चिन्तन गरौं । संधै आशावादी बनौं । सबैलाई प्रेम गर्ने र सहयोग गर्ने बानी बसालौं ।
 
२१. हलुका कडा बिस्तरामा सुत्ने गरौं । सिरानी होचो राखौं ।
 
२२. फुर्सदको समयमा साहित्य, दर्शन, स्वास्थ्य–सम्बन्धी सामग्री वा रूची भएको विषय पढ्ने गरौं । संगीत सुन्ने गरौं । समयको सदुपयोग गरी प्रगतिशील कार्यमा लागौं ।
 
२३. उभिएर खाना पकाउँदा एउटा खुट्टा मुढा वा इँटामाथि र अर्को खुट्टा भुइँमा राख्ने गरौं । पालैपालो खुट्टा बदल्ने र गाह्रो भए कुर्सीमा बसेर खाना पकाउने गरौं ।
 
२४. समय मिलाएर दिनमा १–२ पटक शवासन वा वैज्ञानिक आराम गर्ने बानी बसालौं । यसले शारीरिक तथा मानसिक थकानबाट मुक्ति दिन्छ ।
 
२५. घरका कोठा घाम छिर्ने, खुला, हावा आवतजावत गर्ने र सफा वातावरणको हुनुपर्छ ।
 
२६. ३ घन्टा काम गरेपछि आराम गर्ने गरौं । कम्प्युटर वा टेबुलवर्क गर्नुहुन्छ भने घन्टा–घन्टामा हात र ढाडको सामान्य कसरत वा शरीरलाई तन्काउने र आँखा चिसो पानीले धुने गरौं । कामको बीचबीचमा १०–१५ पटक गहिरो श्वास–प्रश्वास लिने गरौं । बस्दाखेरि सामान्यतया ढाडलाई सिधा राख्ने गरौं । 
 
२७. दिनमा १–२ पटक खुलेर हासौं । यसबाट तनाव हट्छ र शक्ति सञ्चार हुन्छ ।
 
तपाईंले यी स्वास्थ्य नियम पालना गर्नुभयो भने बारम्बार चिकित्सकको ढोका घच्घचाइरहनु नपर्ने हुन सक्छ ।