नेपालमा हुने १३ औँ सागको तयारीप्रति जर्कातामा चासो
-
दक्षिण एसियाली खेलकुदमा भाग लिने राष्ट्रहरूले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनामा नेपालको तयारीप्रति गहिरो चासो राखेका छन् ।
१८ औँ एसियाली खेलकुदका लागि इन्डोनेसियामा भाग लिन आएका दक्षिण एसियाली ओलम्पिक काउन्सिलका पदाधिकारीहरूको ‘साइडलाइन’ बैठकमा आयोजनाबारे सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूले चासो राख्दै छिटोभन्दा छिटो औपचारिक पत्राचार गर्न नेपाललाई दबाब दिएका छन् ।
काठमाडौंमा अघिल्लो महिना सम्पन्न काउन्सिलको बैठकले आउँदो मार्च ८ देखि १८ सम्म १३ औँ साग नेपालमा गर्ने मिति तोकेको थियो ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनौपचारिक बैठकबारे जानकारी गराउँदै नेपाल सरकार र ओलम्पिक कमिटीको तर्फबाट पत्राचार गरेपछि सहभागी सबै देशका सरकारले औपचारिक तयारी थाल्नुपर्ने भएकाले पत्राचार गर्न आग्रह गरेको बताए ।
तोकिएकै मितिमा प्रतियोगिता गर्न नसकिए सम्पूर्ण खेलाडीमाथि अन्याय हुने श्रेष्ठको भनाइ थियो ।
नेपालले दक्षिण एसियाली खेलकुद आयोजना गर्न युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरे पनि भौतिक पूर्वाधारलगायत अत्यावश्यक तयारी सुरु गर्न सकेको छैन ।
नेपालको तयारीप्रति शंका गर्दै श्रीलंकाले प्रतियोगिता गर्न आन्तरिक तयारी गरिरहेको समेत बुझिएको छ ।
प्राविधिक वा प्रशासनिक कारणले नेपालले साग आयोजना गर्न नसके स्वाभाविक रूपले आयोजनाको अधिकार अर्को मुलुकमा सर्ने अध्यक्ष श्रेष्ठले बताए ।
कान्तिपुर