Trending :
 

मलेसियाका प्रधानमन्त्रीले मागे चीनसँग वित्तीय सहयोग

भाद्र ०५,२०७५

-

५ भदौ, २०७५ एजेन्सी
 
मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चीनको उच्च नेतृत्वसँग वित्तीय सहयोगका लागि आग्रह गरेका छन् । मलेसियाको पूर्ववर्ती सरकारले सम्झौता गरेका कतिपय चिनियाँ सहयोगका ठूला परियोजना परिमार्जन गर्न उनले आग्रह गरे ।
 
चीनको औपचारिक भ्रमणका क्रममा ९३ वर्षीय प्रधानमन्त्री महाथिरले पूर्वप्रधानमन्त्री नजिब रजाकले चिनियाँ राज्य–प्रवद्र्धित परियोजना स्वीकृत गर्दा ठूलो आर्थिक हिनामिना गरेको आरोप लगाउँदै आएका छन्  । महाथिरको सरकारले चिनियाँ सहयोगमा सञ्चालित २२ अर्ब डलरभन्दा बढीका परियोजना निलम्बित गरिसकेको छ  ।
 
त्यसमध्ये एउटा प्रमुख रेलसेवाको निर्माणसमेत रहेको छ  । महाथिरले आफ्नो पाँचदिने चीन भ्रमणका क्रममा ‘अन्यायपूर्ण सम्झौताहरूका विषयमा चीनसमक्ष औपचारिक कुरा उठाउने’ प्रतिबद्धता व्यक्त गरेका थिए  ।
 
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा चिनियाँ समकक्षी ली
 
खछ्याङसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा महाथिरले विशेष कृषि उत्पादनहरू मलेसियाबाट खरिद गर्न चीनले सहमति जनाएकोमा धन्यवाद व्यक्त गरे  । उनले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनबाट थप सहयोग हुने अपेक्षा व्यक्त गरे  ।
 
‘मेरो विश्वास छ, चीनले हाम्रा समस्यामा सहानुभूतिपूर्वक विचार गर्नेछ र हाम्रो आन्तरिक वित्तीय समस्या सुल्झाउन हामीलाई मद्दत दिनेछ,’ उनले भने  । पछिल्लो समय मलेसिया आर्थिक समस्यासँग जुधिरहेको उनले बताए  ।