चार बर्षभित्र अन्तरिक्षमा मानव पठाउने भारतको योजना
-
५ भदौ, २०७५ एजेन्सी
भारतीय प्रधानमन्त्रीले पाँच वर्षभित्र अन्तरिक्षमा भारतको तर्फबाट यात्री पठाउने घोषणा गरेका छन् । छिमेकी चीनले सन् २००३ मा मानवसहितको अन्तरिक्षयान पठाउन सफलता प्राप्त गरेको थियो । भारतको ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा दिल्लीस्थित लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले सन् २०२२ अघि नै अन्तरिक्षयात्री पुर्याउने बताएका हुन् ।
संभव भएसम्म सन् २०२२ अघि नै अन्तरिक्षमा मानवसहितको ‘गगनयान’ नामक स्वतन्त्र अन्तरिक्ष मिसन सञ्चालन गर्ने बताए । भारतले सन् २०२२ मा ७५ औँ स्वतन्त्रता दिवस मनाउनुअघि, सम्भव भए त्यो अघि नै भारतीय झण्डा बोकेका भारतीय छोरा वा छोरी सहित अन्तरिक्ष जाने दावी गरे ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) का अध्यक्ष के सिभनले अन्तरिक्षमा मानव पठाउने परियोजना सम्बन्धमा काम भइरहेको जानकारी गराएका छन् । समाचार एजेन्सी ‘एएनआइ’ सँग कुरा गर्दै उनले ‘प्रधानमन्त्रीले सन् २०२२ सम्मको लक्ष्य दिएको’ बताउँदै त्यसलाई पुरा गर्ने दायित्व आफूहरुको भएको बताए ।
‘हामीले केही काम यसअघि नै शुरु गरेर ‘क्रु मोड्युल’ र ‘स्केप सिस्टम’ सहित धेरै प्राविधिक काम पुरा गरेका छौँ’ सिभनले भने, ‘यो परियोजना कार्यान्वयनको चरणमा रहेको छ । ’‘गगनयान’ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को पहिलो मानवसहितको अन्तरिक्ष मिसन हुने पनि उनले बताए ।
मानवसहितको अन्तरिक्ष अभियानमा भारत सफल भए तत्कालीन सोभियत संघ (रुस), अमेरिका र चीनपछि य चौथोँ देश बन्ने छ । तत्कालीन सोभियत संघले युरी गागरिनलाई अन्तरीक्षमा पठाएको थियो।त्यसको एक महिनापछि नै अमेरिकाले पनि अन्तरिक्षमा मानवसहितको यान पठायो ।
सोभियत संघ र अमेरिकाले पठाएको झण्डै चार दशकपछि चीनले सन् २००३ मा मानवलाई अन्तरिक्षमा पठाउन सफल भएको थियो । शीतयुद्धको समयमा सोभियत र अमेरिकाबीच जस्तै अन्तरिक्ष कार्यक्रममा भारत र चीनबीच प्रतिस्पर्धा रहेको छ ।
भारतले सबैभन्दा पहिले सन् १९७५ मा पहिलो पटक भू उपग्रह (स्याटलाइट) अन्तरिक्षमा पठाएको थियो । भारतले सन २००८ मा चन्द्रयान पठाएको थियो, जसले चन्द्रमाको भूभागमा पानीका कणहरु भेटेको थियो ।
त्यसैगरी, सन् २०१४ मा मंगलग्रहको कक्षमा मंगलयान राख्न सफल भएको थियो । त्यसै वर्षको शुरुमा भारतले ‘चन्द्रयान-२’ पठाउने भनेपनि अन्तरिक्षयानको डिजाइनमा परिवर्तन गर्ने भन्दै पटक पटक प्रक्षेपणको समय सार्दै आएको छ ।
आइएसआरले चन्द्रयान २ यसै वर्ष प्रक्षेपण गर्ने जनाएको छ ।