बैशाख २१,२०७४
-
वैशाख २१ –
डकुमेन्ट्री निर्देशक मोहन राई अब फिचर फिल्म बनाउन तम्सिएका छन् ।
मोहनको फिल्म ‘महानगर’ निर्माणको घोषणा गरिएको छ ।
बुधबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा अभिनेता कर्मा शाक्य र अभिनेत्री मेनुका प्रधानको मुख्य भुमिका रहने गरी सो फिल्मको निर्माण घोषणा भएको हो ।
निर्देशक राईका अनुसार ‘महानगर’ फिल्मले काठमाडौं महानगरमा बस्ने तर अटाउन नसक्ने यूवक र यूवतीको कथालाई प्रस्तुत गर्नेछ ।
निर्देशक राई बताउँछन्, ‘महानगर काठमाडौं किनारा वा ‘मार्जिन’ एरियामा बस्ने मानिसहरु र उनीहरुको पीडा, दुख र एक्लोपनको कथामा फिल्म निर्माण हुनेछ ।’ साथै, मानिसमा हुने विभिन्न संवाद र प्रेम र हरेक निराशाहरुको बिचमा पलाउने आशाको कथालाई पनि फिल्ममा समाबेश गरिने निर्देशक राईले बताए ।
फिल्ममा कर्मा, मेनुका प्रधान, जीवन बराल, इन्द्र पराजुली, चन्द्र पाण्डेलगायतले अभिनय गर्नेछन् । फिल्मका लागि घिमिरे युवराज र रेणु कार्कीले कास्टिङ डाइरेक्सन गरेका हुन् । मिडलवे फिल्म्सले माउन्टेन रिभर फिल्म्ससँगको सहकार्यमा फिल्म बनाउन लागेको हो ।
फिल्मको कार्यकारी निर्माताको रुपमा गोबिन्द मैनाली रहेका छन् । कार्यक्रममा उपस्थित अभिनेता कर्माले फिल्मको कथावस्तु असाध्यै रमाइलो रहेको बताए ।
केही समय अघि सोही फिल्मको लागी अभिनेत्री केकी अधिकारी लिड रोलमा रहने जानकारी बाहिर आएको थियो, तर उनलाई अर्की अभिनेत्री मेनुका प्रधानले रिप्लेस गरेकी छन् ।
फिल्म वैशाख २७ देखि छायांकन सुरु गरिने निर्माण पक्षले बातायो ।
प्रमुख समाचार