मेसी परेनन् अर्जेन्टिनाको टोलीमा
-
भदौ ७, २०७५ काठमाडौँ ।
आगामी महिना ग्वाटेमाला र कोलम्बिया विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लिओनल मेसी अर्जेन्टिनाको टोलीमा परेका छैनन्।
अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका छन्।
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेसीले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्याससमेत लिएका थिए। तर, चौतर्फी दबाबपछि उनी आफ्नो निर्णय उल्ट्याउँदै अर्जेन्टिनाको जर्सीमा फर्किएका थिए।
हालै रूसमा सम्पन्न विश्वकपमा टोलीको खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीलाईसमेत निस्कासन अर्जेन्टिनाले मेसीका विषयमा केही भनेको थिएन।
प्रशिक्षक स्कलोनीले टोली छनोट गर्नुअघि आफूले मेसीसँग कुरा गरेको र उनी अर्जेन्टिनाबाट खेल्ने वा नखेल्नेमा निश्चित नरहेको बताएका छन्। ‘मैले मेसीसँग कुरा गरेको छु र उक्त कुराकानी पछि नै उनलाई टोलीमा नराखिएको हो। ईमान्दार भएर भन्नु पर्दा हामीले भविष्यको कुरा गरेनौं,’ उनले भने।
उनले मेसीले हाम्रो लागि के गरेका छन् भन्ने राम्रोसँग थाहा भएको भन्दै मेसीसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताए।
उनले मेसी अर्जेन्टिनी टोलीमा नहरनू आफ्नो लागि राम्रो खबर नभएको भन्दै हामीसँग अझ धेरै खेल खेल्नु छ र हामी भविष्यमा उनलाई हेर्नेछौं भनेका छन्।
अर्जेन्टिनाको टोलीमा मेसीसँगै अग्यूरो, ओटामेन्डि, हिगुआइनजस्ता अरू खेलाडी समेत अटाएका छैनन्।
उनीहरूको स्थानमा इकार्डी, लौटारो मार्टिनेज, जिओभानी सिमिओनीजस्ता युवा खेलाडीलाई मौका दिइएको छ। एजेन्सी ।