जीवनमा सफलता चाहनुहुन्छ भने अल्छी हुनुहोस् !
-
७ भदौ, २०७५ काठमाण्डौ l
के तपाईं भ्यागुतो, छेपारो र सर्पका विशेष बानीबारे जानकार हुनुहुन्छ ? चिसो रगत भएका यी जनावर शरद्ऋतु र वर्षायाम आउनुपूर्व नै आफ्नो लागि खाना सञ्चित गर्ने गर्छन् ता कि उनीहरुलाई प्रतिकूल मौसममा घर बाहिर निस्कन नपरोस् ।
मानिसले प्राकृतिक रुपमा यस्तो गर्नु पर्दैन । मौसम परिवर्तन हँदा न त हामीले कुनै दौडधुप गर्नुपर्छ न पूरा महिनाका लागि खाना जम्मा गर्नुपर्ने चिन्ता नै लिनुपर्छ । घरका पाका सदस्यले हामीलाई निकै अल्छी बताउँदै गाली गर्ने गर्छन् । तर हामी धेरै काम होइन, स्मार्ट काममा विश्वास राख्ने भन्दै तर्क दिएर यसबाट बच्ने गर्छौं ।
अल्छी हुनुपनि एउटा कला हो किनभने हाम्रो शरीर र दिमाग पूर्वजका कारण अत्यधिक मेहनत गर्नका लागि प्रोग्राम्ड छ । त्यसकारण कहिलेकाँही अल्छी गरेर ओछ्यानमा सुतिरह्यौं भने समय बर्बाद गरियो भनेर चिन्ता गर्न थाल्छौं । तर विज्ञानका अनुसार अल्छीपन हाम्रो मुटु र दिमागका लागि निकै राम्रो हो । हामी तरिका पुर्याएर अल्छी भयौं भने यसले हामीलाई लामो र स्वस्थ जीवनका लागि निकै फाइदा पुर्याउने अनुसन्धानको दाबी छ ।
केही नगर्नुहोस्-
हरेक पलको फाइदा उठाउँदै हामीले केही न केही गरिराख्नुपर्छ भनेर हामीलाई सिकाइन्छ । अब त्यो सिकाइलाई बिर्सने बेला आएको छ । जस्तै सधैं काम गरिराख्ने मेसिनलाई केही समयका लागि बन्द गर्नुपर्छ, त्यस्तै तपाईं पनि कहिलेकाँही केही पनि नगर्नुहोस् । केही नगरेका बेला जतिसक्दो रिल्याक्स हुनुहोस् र कुनै पनि दिमागी गतिविधिबाट टाढा रहनुहोस् ।
वैज्ञानिकका अनुसार यही नै त्यो समय हो जब हाम्रो दिमागको रचनात्मक क्षमता सबैभन्दा धेरै सक्रिय हुन्छ किनभने हामीले दिमागलाई थकाउने काम नगरी यसलाई शान्त राख्ने कोशिश गरिरहेका हुन्छौं । झ्यालबाट बाहिर हेर्नुहोस्, बाहिर घुम्न जानुहोस् । याद राख्नुहोस्, त्यतिबेला मोबाइल फोनबाट टाढा रहनुहोस् ।
थोरै समयका लागि निदाउनुहोस्-
किम्बर्ली कोट उत्तरी अमेरिकामा साइकोलोजीका प्राध्यापक हुन् । उनका अनुसार जो दिउँसो १० मिनेटदेखि आधा घण्टाका लागि सुत्छन् उनीहरुको रक्तचाप अन्य व्यक्तिको तुलनामा कम हुन्छ र उनीहरुको तनावको स्तर पनि कम हुन्छ ।
दिनभरी टेलिभिजन वा ल्यापटपमा कार्यक्रम हेर्नुहोस्-
विकेन्डमा दिनभरी टेलिभिजन वा ल्यापटपमा कार्यक्रम हेर्नुका फाइदा छन् । यदि तपाईं टिभीमा फिक्शन वा वास्तविक जीवनको डकुमेन्ट्री हेर्नुहुन्छ भने हाम्रो दिमागले नयाँ तरिकाले सोच्न सुरु गर्छ । टिभीले तपाईंको दिमागलाई नयाँ तरिकाले सोच्न अभिप्रेरित गर्छ ।
घुम्ने–डुल्ने गर्नुहोस्-
कुनै कारणबिना घुम्नेलाई आवारा भनिन्छ । तर प्रकृतिले हामीलाई यस्तै बनाएको छ । यदि तपाईं नियमित रुपमा कुनै तनाव बिना नै घुम्नुहुन्छ भने तपाईंको दिमाग पनि निकै स्वस्थ हुन्छ ।