Trending :
 

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारद्वारा चार स्रष्टा सम्मानित

बैशाख २२,२०७४

-

वैशाख २२ -

यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सङ्गीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह र नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सातौँ वार्षिकोत्सवका अवसरमा बिहीबार उनीहरुलाई जनही एक लाख राशिको पुरस्कार प्रदान गरिन् ।

विसं २००० मा ओखलढुङ्गामा जन्मिएका रायन (नारायण श्रेष्ठ) का ‘टुकी’ (कथा), ‘जितेन्द्र’ (कथा), ‘वेदना’ (गीति सङ्ग्रह) र ‘कहाली’ (गीति नाटक) लगायतका कृति प्रकाशित छन् । विसं २००५ मा काभ्रेमा जन्मिएका राधेश्याम प्रदानले विभिन्न विद्यालय, विश्वविद्यालय र क्लवमा नृत्य प्रशिक्षण दिदैं आएका छन् ।

त्यसैगरी, २००६ सालमा दाङमा जन्मिएकी गायिका चन्द्रकला शाहका ‘छ भने मायाँ छपकै लाइदेऊ’, ‘खर काटी खरौली’ र ‘मोहनी लगायौँ कि’ लगायतका दर्जनौं चर्चित गीत बजारमा उपलब्ध छन् ।

विसं २०११ मा धनकुटामा जन्मिएका नाटककार अशेष मल्लले ‘शकुनी पासाहरू’, ‘रक्तबीज’ र ‘अनादिक्रम’ लगायतका नाटक प्रकाशन गरेका छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको गौरवलाई अझ माथि उठाउन साहित्य, सङ्गीत र कलालाई राष्ट्र प्रेमको भावनाले ओतप्रोत तुल्याउनु आवश्यक रहेको बताइन्। रासस