भाद्र ०८,२०७५
-माधव प्रसाद गर्तौला
८ भदौ, २०७५ काठमाण्डौ l
ब्राह्मो दैवस्तथैवार्षः प्राजापत्यस्तथाऽऽसुरः ।
गान्धर्वो राक्षसश्चैव पैशाचश्चाष्टमोऽधमः l l (मनुस्मृति)
(ब्राह्मः दैवः तथा एव आर्षः प्राजापत्यः तथा आसुरः गान्धर्वः राक्षसः च एव अष्टमः च अधमः पैशाचः)
मनुस्मृति अनुसार ब्रह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गांधर्व, राक्षस एवं पिशाच गरी आठप्रकारका विवाहहरु हुन्छन् l
हिन्दु परंपरामा विवाहलाई सोह्र संस्कार मध्येको एउटा महत्वपूर्ण संस्कार मानिन्छ । वि–वाह अर्थात् यसको शाब्दिक अर्थ विषेशरूपले उत्तरदायित्वको बहन गर्नु हुन आउँछ । पाणिग्रहण संस्कारलाई सामान्य रूपमा हिन्दू परंपरामा ‘विवाह’ भनेर भनिन्छ ।
अन्य परंपरामा विवाह भनेको पति र पत्निका बीचमा एक किसिमको करार हुने गर्छ जसलाई विषेश परिस्थितिमा तोड्न पनि सकिन्छ, तर हिन्दु विवाह पति र पत्नि बीच जन्म–जन्मान्तरको सम्बन्ध हुन्छ जसलाई कुनैपनि अवस्थामा तोड्न सकिन्न । अग्निको सातफेरा लिएर ध्रुवतारालाई साक्षी राखी दुई तन–मन तथा आत्मा एक पवित्र बन्धनमा बाँधिन्छन् । हिन्दू परंपरामा पति पत्निका बीच शारिरीक सम्बन्ध भन्दा आत्मिक सम्बन्धलाई मान्यता दिईन्छ र यो सम्बन्धलाई अत्यन्तै पवित्र सम्बन्ध मानिएको छ ।
हिन्दू मान्यताका अनुसार मानव जीवनका चार आश्रम ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, संन्यासाश्रम तथा वानप्रस्थाश्रममा विभाजन गरिएको छ र गृहस्थ आश्रमको लागि पाणिग्रहण संस्कार अर्थात् विवाह नितान्त आवश्यक छ । हिन्दू विवाहमा शारिरिक सम्बन्ध केवल वंशवृद्धिको उद्देश्यकालागि मात्र हुन्छ । हिन्दू परंपरामा निम्न प्रकारका विवाहहरुको उल्लेख गरिएको छ ।
विवाहको प्रकारहरु
१. ब्रह्म विवाह
आच्छाद्य चार्चयित्वा च श्रुतिशीलवते स्वयम् ।
आहूय दानं कन्याया ब्राह्मो धर्मः प्रकीर्तितः l l
(स्वयम् आहूय आच्छाद्य च अर्चयित्वा च श्रुतिशीलवते कन्यायाः दानम् धर्मः ब्राह्मः प्रकीर्तितः)
दुवै पक्षको सहमतिमा समान वर्गको सुयोग्य वरका साथ कन्याको विवाह निश्चित गर्नुलाई ब्रम्ह विवाह भनिन्छ । सामान्यतः यो विवाहपछि कन्यालाई आभुषणयुक्त गरेर विदा गर्ने गरिन्छ । आजकलको 'एरेन्ज म्यारिज' ब्रम्ह विवाहकै रुप हो ।
२. दैव विवाह
यज्ञे तु वितते सम्यग्ऋत्विजे कर्म कुर्वते ।
अलंकृत्य सुतादानं दैवं धर्मं प्रचक्षते l l
(यज्ञे तु सम्यक् वितते कर्म कुर्वते ऋत्विजे अलंकृत्य सुतादानम् धर्मं दैवम् प्रचक्षते)
यज्ञकर्म चलिरहेको एवं वेदमंत्रोच्चारण गरिरहेको ऋत्विजलाई वर रुपमा चयन गरी उनलाई रत्न- आभूषण आदिले सुसज्जित गरी कन्या समर्पित गर्नुलाई ‘दैव विवाह’ भनिन्छ l अहिले यस्तो विवाहको चलन हटिसकेको छ ।
३. आर्ष विवाह
एकं गोमिथुनं द्वे वा वरादादाय धर्मतः ।
कन्याप्रदानं विधिवदार्षो धर्मः सः उच्यते l l
(एकम् गोमिथुनम् द्वे वा वरात् आदाय धर्मतः विधिवत् कन्या प्रदानम् सः धर्मः आर्षः उच्यते )
गाई-गोरुको एक जोड़ीलाई अथवा दुईवटा गाई या दुबैवटा गोरुलाई वरपक्षबाट स्वीकार गरी समुचित विधिद्वारा गरिएको विवाहलाई ‘आर्ष विवाह’ भनिन्छ ।
४. प्राजापत्य विवाह
सहोभौ चरतां धर्ममिति वाचाऽनुभाष्य च ।
कन्याप्रदानमभ्यर्च्य प्राजापत्यो विधि स्मृतः l l
(सह उभौ धर्मम् चरताम् इति वाचा अनुभाष्य अभि अर्च्य च कन्या प्रदानम् प्राजापत्यः विधिः स्मृतः)
विवाहोत्सुक स्त्री पुरुषलाई वर-कन्याको रूपमा स्वीकार गरी ‘तिमी दुबै मिली साथ-साथ धर्माचरण गर्नु’ यस प्रकार भनि उनिहरुलाई समुचितरूपले स्वागत-सत्कार गर्दै वरलाई कन्या प्रदान गर्नुलाई ‘प्राजापत्य विवाह’ भनिन्छ ।
५. गंधर्व विवाह
इच्छयाऽन्योन्यसंयोगः कन्यायाश्च वरस्य च ।
गांधर्वः स तु विज्ञेयो मैथुन्यः कामसम्भवः l l
(कन्यायाः च वरस्य च इच्छया अन्योन्य संयोगः काम सम्भवः मैथुन्यः स तु गांधर्वः विज्ञेयः)
कन्या र वरको इच्छा एवं सहमतिले स्थापित संबंध (जुन चाहीं शारीरिक संसर्गसम्म पुग्न सक्छ) को परिणतिरूपमा भएको विवाहलाई ‘गंधर्व विवाह’ भनिन्छ l
प्राचिन समयमा दुष्यन्तले शकुन्तलाका साथ गंधर्व विवाह गरेका थिए । उनकै पुत्र भरतको नामबाट नै हालको भारतवर्षको नाम ‘भारत’ रहेको धार्मिक इतिहास छ । यसलाई नै आजकल ‘प्रेम विवाह’ भनिन्छ।
६. आसुर विवाह
ज्ञातिभ्यो द्रविणं दत्त्वा कन्यायै चैव शक्तितः ।
कन्याप्रदानं स्वाच्छन्द्यादासुरो धर्म उच्यते l l
(ज्ञातिभ्यो कन्यायै च शक्तितः द्रविणम् दत्त्वा एव कन्याप्रदानं स्वाच्छन्द्यात् आसुरः धर्मः उच्यते)
कन्याको बंधु-बांधवहरुलाई धन-संपत्ति प्रदान गरी तथा बलपूर्वक कन्यालाई आफ्नो वशमा गरी विवाह गर्नुलाई ‘आसुर विवाह’ भनिन्छ ।
७. राक्षस विवाह
हत्वा छित्वा च भित्वा च क्रोशन्तीं रुदन्तीं गृहात् ।
प्रसह्य कन्याहरणं राक्षसो विधिरुच्यते l l
(हत्वा छित्वा च भित्वा च प्रसह्य गृहात् क्रोशन्तीम् रुदन्तीम् कन्या हरणम् राक्षसः विधिः उच्यते)
कन्यापक्षका निकट संबंधी, मित्र, सुहृदहरुलाई डराई-धमकाई, आहत गरी अथवा उनिहरुको हत्या गरी रुँदै, चिल्लाउँदै, विलाप गरिरहेकी कन्यालाई बलपूर्वक हरण गरी गरिने विवाहलाई ‘राक्षस विवाह’ भनिन्छ l अहिले पनि यस्ता विवाहहरु कहिलेकाँही हाम्रो समाजमा हुने गरेका देखिन्छन् ।
८. पैशाच विवाह
सुप्तां मत्तां प्रमत्तां वा रहो यत्रोपगच्छति ।
सः पापिष्ठो विवाहानां पैशाचश्चाष्टमोधमः l l
(यत्र सुप्ताम् मत्ताम् प्रमत्ताम् वा रहः उप गच्छति सः विवाहानाम् अष्टमः पापिष्ठः अधमः पैशाचः च)
कन्याको मदहोशी (गहन निन्द्रा, नशा सेवन गराई, लठठ् बनाई, मानसिक दुर्बलता आदि) को लाभ उठाई शारिरीक सम्बन्ध बनाउने र उनिसंग जबर्जस्ती विवाह गर्नुलाई ‘पैशाच विवाह’ भनिन्छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार