Trending :
 

जनैपूर्णिमा विशेष

जनै पूर्णिमा एवं रक्षाबंधनको महत्व

भाद्र ०९,२०७५

-माधव प्रसाद गर्तौला

९ भदौ, २०७५ काठमाण्डौ l  

 

पूर्वीय संस्कृति चाड-पर्वहरुको संस्कृति हो l यिनको उद्येश्य मानवीय संबंधहरुको विकास एवं उदात्त भावनाहरुका सार्थक अभिव्यक्ति हो l यी पर्वहरुमा ऋषितर्पणी (श्रावणीपूर्णिमा, उपाकर्म) या जनैपूर्णिमाको महत्वपूर्ण स्थान रहेको छ l वैदिक युगदेखी नै प्रचलित यो पर्वले शिक्षा, स्वास्थ्य, सौंदर्य तथा सांस्कृतिक मूल्यहरुको स्थापना एवं पुनर्स्मरण गराउँदै आइरहेको छ l यसलाई प्रायश्चित्त एवं जीवन-मूल्यहरुको रक्षाको लागी संकल्प पर्वको रुपमा मनाउने गरिन्छ l यही नै जीवनको सुख एवं समृद्धिको आधार हो l

ऋषितर्पणी विशुद्धरूपले वैदिक कर्म हो l हिन्दूहरूको धार्मिक तथा साँस्कृतिक पर्व ऋषितर्पणीका दिन अध्यायोपाकर्म, वेदोपाकर्म या वेदारम्भ गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य (सूर्य) बाट वेद (ज्ञान) प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबंधन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाउने परंपरा छ l

सम्प्राप्ते श्रावणस्यान्ते पौर्णमास्यां दिनोदये।

स्नानं कुर्वीत मतिमान् श्रुतिस्मृतिविधानत:।।

उपाकर्मणि कर्तव्यम् ऋषिणां चैव पूजनम्।

ततोऽपराह्णसमये रक्षापोटलिकां शुभम् ।। इति

अर्थात् बुद्धिमान पुरुषले श्रावणपूर्णिमा (ऋषितर्पणी) को दिन प्रातः काल नै श्रुति-स्मृति विधानानुसार स्नानादि कृत्य गर्नुपर्छ l यो आत्मशोधनको पर्व हो l सावधानीपूर्वक जीवन-यापन गर्ने व्यक्तिहरुसंग पनि प्रमादवश केही न केही भूलहरु हुने गर्छन् l अतः यी दोषहरुबाट बच्न एवं पापदेखी निवृत्ति हेतु ऋषितर्पणीको विशेष योगदान रहेको छ l

आचार्य हेमाद्रि कृत ‘ऋषितर्पणीसंकल्प’को कर्मकांडमा सबैभन्दा ठुलो संकल्प रहेको छ l यो प्रायश्चित्त संकल्प हो l यस संकल्पमा ज्ञात-अज्ञात अनेक पापहरुका नामोल्लेख गरी उनिहरुदेखी मुक्ति पाउने कामना गरिएको छ l

मध्याह्नमा नदी,  तलाउमा गई पवित्र जलले अपामार्ग, पंचगव्य (दूध, दही, घ्यू, गाईको मूत्र, गोबर,) तथा पवित्र स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गरिन्छ । यसले शारीरिक शुद्धि हुन्छ, र ऋषिपूजन, देवपूजनद्वारा आध्यात्मिक शान्ति उपलब्ध हुन्छ l

त्यसपछि जौ, तिल, कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् । तत्पश्चात आ-आफ्ना गोत्र, प्रवर एवं ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धती सहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजन गरी यज्ञोपवीत अभिमन्त्रण (जनै मन्त्रने काम) गरिन्छ ।

ऋषितर्पणीमा स्नानसंबंधी विधि अत्यन्तै वैज्ञानिक आधारमा स्थापित गरिएको छ l मृत्तिका, भस्म, गोमय (पञ्चगव्य), अपामार्ग, कुशयुक्त जल आदि सबै स्वास्थ्यवर्धक एवं रोगनाशक हुन्छन् l यस प्रकार ऋषितर्पणीको संपूर्ण प्रक्रिया सर्वविध शुद्धिका लागी अत्यंतै उपयोगी एवं लाभप्रद छ l पंचगव्य पदार्थको उपयोगिता आयुर्वेदले पनि स्वीकारेको छ l

जीर्ण यज्ञोपवीत परिवर्तन- 

उपाकर्मणिचोत्सर्गे गतेमासचतुष्टये l

नवयज्ञोपवीतानि धृत्वा जीर्णानि संत्यजेत् l l

अर्थात : उपाकर्म, उत्सर्ग- अशौचान्त आदि र यज्ञोपवीत लगाएको चार महिना भएपछि वैदिक विधिपूर्वक अभिमंत्रित यज्ञोपवीत (नयाँजनै) परिवर्तित गर्नु भन्ने वचन छ । यसदिन अभिमंत्रित गरेर राखिएका यज्ञोपवीत (जनै) वर्षदिनभरी नै लगाउने परंपरा रहेको छ ।

वैदिकशास्त्रानुसार यज्ञोपवीतलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न अभिमंत्रित धागो भन्ने बुझिन्छ । यज्ञोपवीतमा भएका शिखा (गाँठो) हरूमध्ये एउटा यज्ञोपवीतका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को यज्ञोपवीतका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग (संबंध) मानिन्छ । यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप,  अत्री,  भरद्वाज,  गौतम,  जमदग्नि,  वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणी पनि भनिन्छ । ज्ञान तथा सफल जीवन-यापन गर्न शिक्षा एवं दिक्षा दिने ऋषीहरूको सम्मानमा ‘ऋषितर्पण’ गरी उहाँहरु प्रति सम्मान प्रगट गरिन्छ l

ब्रह्मयज्ञादधिकोस्ति यज्ञो न तत् प्रदानात् परमस्तिदानम् ।

सर्वे दानाक्रतवः तदन्ता नान्तो दृष्टो कैश्चिदस्य नृलोके l l

अर्थात् (ब्रह्मयज्ञ) वेदपाठ भन्दा न कुनै ठुलो यज्ञ छ  न त्यसको प्रचार भन्दा ठुलो दान छ । किनकी सबै दक्षिणाशक्ति सहित भएका यज्ञहरू ब्रह्मयज्ञभित्रै हुन्छन् l

उक्त कर्महरू गर्दा व्यक्ति देवऋण, ऋषिऋण र पितृऋणबाट मुक्त हुने धार्मिक विश्वास छ l यसै दिन रक्षासूत्र पनि बाँध्ने परंपरा छ l जनैपूणिर्माको दिन बाँधिएको रक्षाबन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपछि वैतरणी नदी सजिलै पार हुने जनविश्वास रहेको छ । सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौद्ध धर्मावलम्बीहरूले पवित्र तीर्थहरूमा गई मेला भर्ने गर्दछन् ।

आजका दिन शैलुङ,  कालिञ्चोक,  हलेसी,  नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ । काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु त्रिवेणी आदि स्थानमा पवित्र स्नान गरी महादेवको पूजा अर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्छ ।

परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने पनि चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ l

रक्षासूत्र (राखी)

रक्षाबंधनको अर्थ हो रक्षा गर्नको लागी बांधिनु, अर्थात् वचनबद्ध हुनु l यस पर्वको संबंधमा अनेक कथाहरु प्रचलित छन् l मान्यता छ कि देवासुर संग्राममा जब देवाताहरु असुरहरुसंग निरंतर पराजित हुन लागे तब देवराज इंद्रले आफ्ना गुरु बृहस्पतिसंग विजय प्राप्तिको इच्छा प्रगट गरी यसको लागी उपाय बताउनको लागी प्रार्थना गरे l

गुरु बृहस्पतिले श्रावण पूर्णिमाको दिन आँकको रेशाद्वारा राखी (सूत्र) बनाई देवराज इंद्रको मणिबंधमा (हातको नारी) बाँधी दिए l यस सूत्रले रक्षा-कवचको काम गर्यो l यस प्रकार मानव संस्कृतिमा प्रथम रक्षा-सूत्र बांधनेवाला बृहस्पति देवगुरुको पदमा अभिषिक्त भए l तबदेखी नै रक्षासूत्र (राखी) बाँध्ने प्रचलन प्रारंभ भयो l

यसै दिन इंद्रलाई देवासुर संग्रामको लागी विदा गर्ने समयमा उनकी पत्नी शचीले पनि उनको भुजामा (हात) रक्षासूत्र बांधेकी थिईन् l यो सूत्र विश्वास एवं आस्थाको प्रतीक थियो l विश्वास फलित भयो र इंद्र विजयी भएर फर्किए l एक अन्य कथानकको अनुसार भगवान् वामनले राजा बलिलाई यसै दिन रक्षा हेतु सूत्र बांधेर दक्षिणास्वरुप संपूर्ण पृथ्वी नै प्राप्त गरेका थिए l

No automatic alt text available.

येन बद्धो बलिराजा दानवेन्द्रो महावलः ।

तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल l l

वस्तुतः रक्षासूत्रको यस काँचो धागोको बदलामा भगवान् श्रीकृष्णले द्रौपदीको सारीलाई अक्षय एवं असीमित बनाई लाज बचाएका थिए l यसलाई दीदी-भाईको पवित्र एवं पावन संबंधको सूत्रपात भन्न सकिन्छ र यहींबाट रक्षाबंधनको पुण्य परंपरा प्रचलित भयो l

नेवार समुदायमा रक्षाबंधन

नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ । विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाज-भाइको आपसी प्रेमको चाडका रूपमा पनि लिइन्छ । यो दिन दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ ।

संपूर्ण पाठकवृंदहरुलाई  जनैपूर्णिमा एवं रक्षाबंधनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु l