Trending :
 

चितवनमा मल अभाव, किसान मर्कामा

भाद्र ११,२०७५

-

११ भदौ, २०७५ काठमाण्डौ l 
 
 
रत्ननगर l चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । 
 
अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्को मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन् । चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रवीन्द्र गौतम बताउँछन् । तर साउनदेखिनै अनुदानित मल अभाव हुँदा किसानले दोब्बर पैसा तिरेर एमोनियम सल्फेट (चिनी मल) खरीद गर्न बाध्य भएका प्रमुख गौतमको भनाइ छ । 
 
जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्नेगर्छ । तर दुवै स्थानमा मल सकिएपछि किसान समस्यामा छन् । जसका कारण मलको कालोबजारी हुनसक्ने आशङ्का बढेको छ । 
 
अनुदानित युरिया मलको मूल्य प्रतिबोरा रु ७६५ छ र तर गैर अनुदानित चिनीमल एक हजार ३०० माथि छ । मल अभाव भएपछि किसानलाई सहजताका लागि प्रतिबोरा रु २५ घटाएर एक हजार ३३५ मा एमोनियम सल्फेट बिक्री गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनका प्रमुख वुद्धिविनोद दाहाल बताउँछन् ।
 
चितवनमा साउन १५ सम्म मात्रै मल बिक्री भएको र त्यसपछि नआएको दाहालले बताए ।  विगतको स्टक मल सकिएको र नयाँ मल ल्याउने प्रक्रिया चलिरहेकाले यहाँ मल आउन अझै समय लाग्ने उनले बताए । 
 
यद्यपि कृषि सामग्री कम्पनी लिमिटेड चितवनका अनुसार मल खरीद प्रक्रिया भएर भारतबाट पठाइ सकिएको र भन्सार आउन बाँकी रहेकाले ३,४ दिनमा नै मल आपूर्ति हुने दाबी गरेको छ । रासस