Trending :
 

एसियाली खेलकुदमा सोमबार पनि नेपालको निराशाजनक प्रदर्शन

भाद्र १२,२०७५

-

  भदौ १२ , २०७५ काठमाडौँ ।
 
एसियाली खेलकुद अन्तर्गत सोमबारका खेलमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन । नेपाली खेलाडीहरु पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
 
टेबल टेनिस
टेबल टेनिसको टिम इभेन्टमा नेपाल पराजित भएको छ ।
 
महिला टिम इभेन्टको पुल डीमा रहेको नेपाल यस समूहका सबै टिमसँग पराजित भयो । यसअघि सिंगापुर र मलेसियासँग हारेको नेपाली महिला टोली आज हङकङ र भियतनामसँग पनि पराजित भएको हो । नेपाल सबै खेलमा समान ३–० कै सेटमा हार्न पुग्यो । नेपाली टिममा नविता श्रेष्ठ, स्वेच्छा नेम्बाङ र रविना महर्जन सहभागी थिए ।
 
पुरुषको टिम इभेन्टमा पनि नेपालको प्रदर्शन खराब रह्यो । पुल एमा रहेको नेपालले आज उत्तरी कोरियासँग ३–० कै सेटमा हार ब्यहोर्‍यो । लाओसलाई भने३–१ ले हराएको थियो ।
 
यसअघि नेपाली टिम चीन र मलेसियासँग समान ३–० कै सेटमा पराजित भएको थियो । पुरुष तर्फ नेपाली टिममा स्यान्टू श्रेष्ठ, दिप साउन र अमरलाल मल्ल थिए ।
 
कराते
पुरुषको ८४ केजी मुनिमा नेपालका दिवस श्रेष्ठ क्वार्टर फाइनलमा इरानका पुरशाव जविओल्लाहसँग ८–० को अन्तरले पराजित हुँदै बाहिरिए ।
 
महिलाको ५० केजी मुनिमा अनु अधिकारी क्वार्टरफाइनलमा पराजित भइन् । प्रिक्वार्टर फाइनलमा मकाउकी खेलाडीलाई ५–१ ले हराएकी अनु क्वार्टरफाइनलमा चाइनिज ताइपेइकी खेलाडीसँग ७–२ ले पराजित भइन् ।
 
यससँगै नेपालको करातेको स्पर्धा पनि सकिएको छ ।
 
प्याराग्लाइडिङ
पदकको आशा गरिएको प्याराग्लाइडिङमा आजको प्रदर्शन त्यति राम्रो रहेन । क्रश कन्ट्री विधा अन्तर्गत अघिल्लो चरणसम्ममा तेस्रो स्थानमा रहेको नेपाली टिम तेस्रो चरणको समाप्तिसम्ममा चौथो स्थानमा झरेको छ ।
 
महिला क्रश कन्ट्री टिम इभेन्ट अन्तर्गत तेस्रो चरणको समाप्तिसम्ममा नेपाल छैटौं स्थानमा छ ।
 
बक्सिङ
बक्सिङमा आज प्रतिस्पर्धा गरेका नेपाली खेलाडी दिपक श्रेष्ठ चाइनिज ताइपेईका खेलाडीसँग पराजित भएका छन् । उनी चेयावे कानसँग ५–० अंकमा पराजित भए ।