‘नेपाल आइडल’ मा धेरैलाई चकित पार्ने को हुन् ‘काउली बुढी’
-
१२ भदौ, २०७५ काठमाण्डौ l
नेपाल आइडल सिजन२ को काठमाडौँ अडिसनमा निर्णायकहरुलाई नै चकित बनाइदिने ‘काउली बुढी’ उर्फ सन्ध्या बुढाको चर्चा यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । हाँस्यात्मक शैलीमा प्रस्तुत भएकी सन्ध्याको प्रतिभा देखेर संसारभरका नेपालीहरु नतमस्तक हुँदै प्रशंसामा उनको फोटो र भिडियो शेयर गरिरहेका छन् ।
‘नेपाल आइडल’ को पहिलो चरणबाट नै चर्चा र प्रसंशा पाएकी ‘काउली बुढी’ उर्फ सन्ध्या बुढा को हुन् त ? धेरैले उनको यो प्रतिभा अद्भुत र लुकेको कला भनेर प्रशंसा गरेका छन् । तर उनी एक्कासी लोकप्रिय भने भएकी होइनन् । उनलाई धेरैले लोक गायिका भनेर चिन्छन् भने केहीले कार्यक्रम सञ्चालिका । ‘काउली बुढी’ बनेर सन्ध्याले यसअघि नै यु ट्युबमा ‘काउली बुढी शो’ सञ्चालन गरिसकेकी छिन् ।
सुर्खेतकी २२ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या लोक गायिका हुन् । उनको आवजमा दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाईसकेकी छिन् भने केही गीतमा आफैले मोडलिङ समेत गरेकी छिन् ।
‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिई सकेकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी हुन् ।
कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन् । युट्युब कार्यक्रम निर्माणको क्रममा ‘काउली बुढी शो’ को कन्सेप्टबाट उनी युट्युबमा कार्यक्रम देखा परिन् । उनको शोलाई दर्शकले खुबै रुचाए ।
देशका विभिन्न भागमा भएका ‘स्टेज शो’ हरुसमेत सञ्चालन गरेकी सन्ध्या पछिल्लो समय जनता टेलिभिजनमा गायिका शोभा त्रिपाठीसँगको सहकार्यमा ‘लोकमाला’ कार्यक्रम सञ्चालन गर्दै आएकी छन् ।