बालीमा ‘आँखा’ नलागोस् भनेर भारतीय किसानले खेतमा लगाए सन्नीको पोस्टर

भाद्र १२,२०७५

-

१२ भदौ, २०७५ एजेंसी l
 
 
भारतको आन्ध्रप्रदेश राज्यमा एक किसानले आफ्नो बालीमा ‘आँखा’ नलागोस् भनेर सन्नी लियोनको पोस्टर खेतमा टाँगेका छन् । उनले आफ्नो यो तरिकाले काम गरिरहेको दाबी पनि गरेका छन् ।
 
आन्ध्रप्रदेशस्थित नेल्लोरे जिलको बन्दा किन्दी पाल्ले गाउँका ४५ वर्षे किसान चेन्चु रेड्डीले आफ्नो खेतमा लियोनको पोस्टर टाँसेका हुन् । ‘यस वर्ष दशै एकड जमिनमा मेरो बाली राम्रो भयो । मेरो बालीमा गाउँले र बाटो हिँड्नेहरुको अनावश्यक नजर लाग्ने गरेको थियो । त्यसैले मैले त्यसलाई अन्तै मोड्ने उपाय खोजिरहेको थिएँ । अन्ततः मैले सन्नी लियोनको पोस्टर टाँस्ने निर्णय गरेँ,’ ती किसानको भनाइ हिन्दुस्तान टाइम्सले उधृत गरेको छ । उनले खेतमा बन्दा, काउलीलगायतका तरकारी लगाएका छन् ।
 
‘मेरो ईर्ष्या गरेर रुने होइन,’ पोस्टरमा तेलुगु भाषामा लेखिएको छ। ‘यो उपायले काम गरिरहेको छ। अहिले कोही पनि मेरो बालीमा हेर्दैन,’ रेड्डी भन्छन् । आन्ध्र प्रदेशमा ग्रामीण क्षेत्रका अन्धविश्वासग्रस्त किसानले ‘आँखा नलागोस्’ भनेर खेतबारीमा तेलुगु भाषामा ‘बोम्मालु’ भनिने बुख्याँचा राख्ने चलन नौलो होइन ।