Trending :
 

हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’ सार्वजनिक

लेखक आचार्य जेठ ११ देखि देशभरि पुस्तक यात्रामा जाने

बैशाख २४,२०७४

-

वैशाख २४ -

चर्चित हाँस्यकलाकार हरिवंश आचार्यको दोस्रो कृति उपन्यास 'हरिबहादुर' हिजो शनिवार सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त कृतिको सार्वजनिक गरेका हुन् ।

यसअघि आत्मकथा ‘चिना हराएको मान्छे' लेखिसकेका हरिवंश आचार्यले 'हरिबहादुर'को विमोचनमा बोल्दै भने’; “'हरिबहादुर' उपन्यासमा एक चतुर पात्रको कथा समेटिएको छ, चिना हराएको मान्छे'मा लेख्न नसकोका कुरा 'हरिबहादुर'मा लेखेको छु ।” हरिबहादुरका १५ प्रतिशत विषय टेलिचलचित्रको पात्र हरिबहादुरसँग मिले पनि बाँकी विषय नयाँ रहेको लेखक आचार्यले बताए ।

यस्तै पुस्तक सार्वजनिक गर्दै मदनकृष्ण श्रेष्ठले हरिबहादुर हाम्रै समाजमा भएको एउटा पात्र भएको उल्लेख गरे । “हरिबहादुर हाम्रै समाजमा भएको एउटा पात्र हो । जो हरेक ठाउँमा हरिबहादुर छ, जसले बुद्धि भएर पनि सही ठाउँमा प्रयोग गर्दैन । जसले आफूलाई फाइदा हुने काममा मात्र आफू सरिक हुन्छ भने आफू फस्ने स्थानमा अरुलाई फसाइदिन्छ। हरिबहादुर अहिले देशका नेताहरु जस्तै चरित्र हो । हरिबहादुरजस्ता मानिस राजनीतिमा भएर नै हामीले विभिन्न ताण्डव देख्नुपरेको छ।” साथै, उनले आफ्नो पुस्तक पनि दशैँमा ल्याउने बताए ।

फाइन प्रिन्टद्वारा प्रकाशित सो पुस्तकका प्रकाशक अजित बरालका अनुसार संस्थाको टिमसँगै लेखक आचार्य जेठ ११ देखि देशभरि पुस्तक यात्रामा जानेछन् ।

पुस्तक विमोचनका क्रममा हरिवंश आफै हरिबहादुरको रुपमा उपस्थित भई किताब बेचेको अभिनय गरेका थिए ।

पुस्तक ‘हरिबहादुर’को मूल्य भने ३९८ रुपैया रहेको छ ।