Trending :
 

नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागरको ८३ रन

भाद्र १३,२०७५

-

 १३ भदौ, २०७५ काठमाण्डौ l 
 
 
 
काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसामु ९ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले सागर पुनको उत्कृष्ट ८३ रनको मद्दतमा २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
 
सागरले ८४ बलमा ८३ रन बनाए । जसमा ६ चौका र २ छक्का समावेश थियो । लामो समयपछि नेपाली टोलीमा कमव्यापक गरेका सागर र आरिफ शेखले मध्यमक्रममा नेपाली इनिङ उकास्दै ९२ रनको साझेदारी गरेका थिए । 
 
यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले टोलीका लागि ४५ रन जोडेका थिए । नेपालका लागि अन्य ब्याट्सम्यान आरिफ शेखले ३६, कप्तान पारस खड्काले ६, दिपेन्द्रसिंह ऐरी  ९, सुवास खकुरेल ४, सोमपाल कामी ५ रनमा आउट भए । यस्तै रोहितकुमार पौडेल शून्य रनमा आउट भए भने करण केसीले आक्रामक इनिङ खेल्दै १० बलमा २६ रन प्रहार गरे । जसमा २ छक्का र १ चौका समावेश थियो ।  
 
ओमानले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । आफ्नो पहिलो खेलमा नै ओमानलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल छ ।  तर पछिल्लो समय नेपालमाथि ओमान हाबी भएको छ । नेपाल र ओमनबीच ५० ओभरको खेलमा ६ पटक भेट हुँदा नेपाल र ओमानले समान ३–३ खेल जितेका छन् । 
 
एसीसी एसिया कप छनोट प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् । प्रतियोगिताको उपाधी विजेताले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।