Trending :
 

कोरियाली अंतर्संबंधमा अमेरिका बाधक !

भाद्र १३,२०७५

-

१३ भदौ, २०७५ एजेंसी l 
 
 
दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन उत्तर कोरियासँग शान्तिपूर्ण सम्बन्ध मात्र नभएर आर्थिक रुपमा पनि जोडिन चाहन्छन् । उनले यसअघि पनि उत्तरपूर्वी एसियामा युरोपियन युनियन जसरी स्थायी कारोबार सुरु गर्न जोड दिइसकेका छन् । तर यसमा उनले दुई समस्याहरुको सामना गर्नुपर्ने बताइन्छ । पहिले त उनीसँग यो लक्ष्यलाई पूरा गर्न केबल पाँच वर्षको एउटा कार्यकाल मात्र छ भने अर्कोतर्फ दक्षिण कोरियाको सबैभन्दा नजिकी मित्रराष्ट्र अमेरिका यसको विरोधमा हुने सीएनएनले जनाएको छ । 
 
यसरी पछिल्लो समय दुई कोरियाबीचको सम्बन्धमा सुधार आउँदै गर्दा राष्ट्रपति मुन अहिले भने आगामी महिना तय किमसँगको तेस्रो सम्मेलनका लागि प्योङयोङ जाने तयारीमा छन् । अर्कोतर्फ अमेरिका र उत्तर कोरियाबीचको समझदारीमा भने विभिन्न विवाद उत्पन्न भइरहेको छ । यस्तोमा उत्तर कोरियासँग नजिकीँदै जाँदा दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्धमा समस्या आउने सम्भावना अधिक रहेको देखिन्छ । त्यसैले पनि हाल अमेरिकाले उत्तर कोरियाको मुद्दालाई जसरी सम्हालिरहेको छ त्यसले भविष्यमा सिओललाई निराश बनाउने निश्चित छ जसपछि दक्षिण कोरियाको कूटनीतिक नीति झन विवादित बन्ने बताइएको हो । 
 
गत हप्ताको भाषणमा पनि राष्ट्रपति मूनले कोरियाली प्रायद्विपमा आफ्नो आर्थिक लक्ष्यबारे विशेष टिप्पणी दिएका थिए । यस्तोमा साँच्चिकै दुई कोरियाबीच व्यापारिक कारोबार सम्भव हुने हो भने भौगोलिक रुपमा अलग्गिएको दक्षिण कोरियाको अन्य एसियाली मुलुकसम्मको पहुँच बढ्न जानेछ भने जनताबाट पनि मूनले असीम समर्थन प्राप्त गर्ने बताइन्छ ।
 
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किमसँग भेटवार्ताका लागि सहमत गराएकामा पनि उनी विश्वभर प्रशंसाको पात्र बनेका थिए । यसैबीच उनले कोरियाली प्रायद्विपसँग सम्बन्धित मुद्दाहरुमा दक्षिण कोरियाले नै प्रमुख भूमिका निर्वाह गरेको परिचय पाउनु पनि आफैँमा ठूलो उपलब्धि रहेको उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘वासिङटन र प्योङयोङबीचको सम्बन्धले दक्षिण कोरियासँगको कूटनीतिक मिलापमा कुनै प्रभाव पारेको छैन ।
 
बरु अन्तर कोरियाली सम्बन्धले चाहिँ उत्तर कोरियामा निशस्त्रीकरण प्रक्रियालाई अघि बढाउन मद्दत गरिरहेको छ ।’ तरपनि अमेरिकासँग अझै दुई कोरियाका योजनालाई विफल पार्न सक्ने क्षमता रहेको बताइन्छ । यसअघि उत्तर कोरियाको आधिकारिक संचारले पनि निशस्त्रीकरणको विषयमा अमेरिकासँग जारी छलफलले विश्व समुदायको आशा र अपेक्षालाई निराशा र अधीरतामा परिणत गराइरहेको भन्दै चेतावनी दिएको थियो ।
 
यसका लागि वासिङटन र सिओलको फरकफरक रणनीति जिम्मेवार रहेको प्योङयोङको भनाइ छ । उनीहरुका अनुसार सिओल अहिले उत्तर कोरियासँग दिर्गकालीन शान्ति र दृढ सम्बन्ध स्थापनाका निम्ति कदम अघि बढाइरहेको छ भने अमेरिकाले चाहिँ उत्तर कोरियालाई एकलौटी रुपमा निशस्त्रीकरणको दबाब दिँदै आएको छ ।
 
अर्कोतर्फ वासिङटन र दक्षिण कोरियाबीचको सम्बन्धमा देखा परिरहेको संवेदनशीलताबाट उत्तर कोरियाले सबैभन्दा बढी फाइदा लिइरहेको पनि बताइन्छ किनकी उनीहरुले वासिङटनले आफूमाथि लगाएको प्रतिबन्ध हटाउन सिओललाई दबाब दिने काम गरिरहेका छन् ।
 
उता राष्ट्रपति मूनले आफ्नो लक्ष्य पूरा गर्न सर्वप्रथम त कोरियाली युद्ध अन्त्यको आधिकारिक घोषणा गर्नुपर्ने हुन्छ र उत्तर कोरियाको राष्ट्रिय दैनिक रोदोङ सिन्मनले पनि युद्ध अन्त्यको औपचारिक घोषणा स्थायी शान्ति स्थापनाका निम्ति सबैभन्दा आवश्यक रहेको उल्लेख गर्दै आएको छ । यही प्रक्रियाका लागि सकारात्मक वातावरण सिर्जना गर्न बुधबार मात्र उत्तर र दक्षिण दुवैले आ–आफ्ना सिमा क्षेत्रमा खटाइएका असङ्ख्य सैनिकहरुलाई फिर्ता बोलाएका थिए । 
 
यस्तै हुँदै गएमा दक्षिण कोरियाले उत्तरमाथिको प्रतिबन्धलाई चाँडै नै हटाएर आर्थिक संलग्नताको सुरुवात गर्न सक्नेछ, जसले वासिङटनलाई भने कठिन परिस्थितिमा पार्ने बताइन्छ । त्यसकारण यसको विरुद्धमा अमेरिका कानूनी रुपमा कोरियाली युद्धलाई अन्त्य गर्ने द्विपक्षीय शान्ति सम्झौतालाई आधिकारिक मान्यता दिनबाट पछि हट्न सक्छ वा दक्षिणलाई यसमा हस्ताक्षर गर्नबाट रोक्न सक्ने पनि बताइएको छ ।