महिला उद्यमशीलता बढाउन तिज मेला हुँदै
-
१३ भदौ, २०७५ काठमाण्डौ l
महिला उद्यमशीलता बढाउने उद्देश्यले तिज मेला हुने भएको छ । ‘व्यवसाय तथा औद्योगिकीकरणमा हाम्रो ध्यान, महिला सशक्तीकरण हाम्रो अभियान’ भन्ने नाराका साथ डिइसिसी नेपाल प्रालिको व्यवस्थापन र आयोजनामा तिज मेला हुने भएको हो ।
भदौ १४ देखि १७ गतेसम्म त्रिपुरेश्वरको युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तलामा हुने मेलामा महिला उद्यमीले आफ्ना उत्पादित वस्तुहरूलाई प्रदर्शनीमा राख्न सक्ने जनाइएको छ । महिला विकास र महिलाको सीपमूलक कार्यहरूलाई उजागर गर्नका लागि मेला आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।
यस मेलाको मुख्य प्रायोजक अर्ना लाइट र प्रायोजकमा रियलाइन्स सिमेन्ट, ओम गोल्ड हाउस रहेका छन् । मेलाको मुख्य आकर्षण स्वदेशी तथा विदेशी वस्तुहरू, कस्मेटिक्सका साथै गरगहनाहरू, निःशुल्क आँखा परीक्षण, निःशुल्क मेहदीका स्टल, प्रत्येक दिन लक्की ड्रका उपहार रहेका छन् । लक्की ड्रमा एयर अरेबियाको दुईतर्फी टिकट, होम अपलाएन्सेस उपहार, मोबाइल उपहार, निःशुल्क मेकअप, फेस पेन्टिङ र सेल्फी कर्नर इत्यादि रहेको आयोजकले जनाएका छन् ।
मेलामा ८० भन्दा बढी स्टल रहने जनाइएको छ । हस्तकला, साडी, कुर्ता, गिफ्ट सामग्री, मेहदी, होम अप्लाइन्सेस आदि सामग्री मेलाको आकर्षण रहने आयोजकले जनाएका छन् । साथै खाना पारखीका लागि विशेष तिज परिकारसहित फुड स्टल रहने जनाइएको छ ।