Trending :
 

भगवान सदाशिव, जसले छोडेमा यो देह 'शव' मात्र रहन्छ !

भाद्र १३,२०७५

-

१३ भदौ, २०७५ काठमाण्डौ l 

 

असितगिरिसमं स्यात् कज्जलं सिन्धुपात्रे l 
सुरतरुवरशाखा लेखनी पत्रमुर्वी l l
लिखति यदि गृहीत्वा शारदा सर्वकालं ।
तदपि तव गुणानामीश पारं न याति । l 
 

आचार्य पुष्पदंत भन्नुहुन्छ कि संसारमा भएको सबै रुख बिरुवालाई कलम बनाएर, सातै समुद्रमा भएको पानीमा यहाँ भएका सबै माटो मिसाइ मसी बनाएर, देवी सरस्वतीले शिव महिमा भन्ने र गणेशले लेख्ने काम गरे पनि त्यो मसी सकिँदासम्म शिव महिमाको एक दशांस पनि सकिएको हुन्न । यस अर्थमा शिव बुझ्न र शिवबारे लेख्न सजिलो छैन । तैपनि सामान्य बुझाइमा शिव के हो भन्नेबारे छोटो चर्चा भने गर्न सकिन्छ ।

शिव शक्ति हो । यसलाई आगोका रूपमा पनि व्याख्या गर्न सकिन्छ । ऊर्जाको उत्पत्ति शिवबाट हुन्छ । हरेक प्राणीको जन्म ऊर्जाबाट हुन्छ र मृत्युपछिको मोक्ष पनि ऊर्जाबाटै हुन्छ । तसर्थ जन्माउने र मोक्ष प्रदान गर्ने ऊर्जा शिव हो, भोले हो, पशुपति हो l अबुझहरु चारखुट्टे जनावर र बुद्धि नभएकालाई पशु बुझ्छन् र त्यहीरूपमा व्यवहार गर्छन् । तर पशुको अर्थ त्यो हैन ।
 
पशु भनेको त जसले सुख र दुःख भोग गर्छ त्यो नै पशु हो । ब्रह्मादेखि मानवसम्म र चराचर जगतमा भएका सबै पशु हुन् शिवबाहेक । हामी पनि सबै पशु हौं । तर शिवमात्रै सुख दुःखबाट पर छन् र सबैको रक्षा गर्छन् । सुख दुःखमा परेकाको उचित रेखदेख गर्छन् । तसर्थ शिव सबैको पति हो, पशुपति हो ।

शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् । शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो । वेदमा यिनको नाम रुद्र भनिएको छ । यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन् । यिनको अर्धाङ्गिनी (शक्ति) को नाम पार्वती हो । यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन् । हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्टिकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन् ।

'श् इ व् अ'  मिलेर बनेको शिवको नामको 'इ' लाई हटाएमा 'शव' शब्द बन्छ तसर्थ शिवलाई जीव अथवा प्राण भनेर चिनिन्छ । शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ । देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमरभन्दा तलको भागमा छ । त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिन्छ ।

शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिन्छन् र उनको पूजा लिंगको रूपमा गरिन्छ । भगवान शिवलाई संहारको देवता भनिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन् । अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ ।

त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन् । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् । शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन् । भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकाले उनलाई महेश्वर भनेर चिनिन्छ ।

शिव प्रार्थना

नमः शम्भवाय च मयोभवाय च नमः शंकराय च मयस्कराय च नमः शिवाय च शिवतराय च । ईशानः सर्वविद्यानामीश्वरः सर्वभूतानां ब्रह्माधिपतिर्ब्रह्मणोऽधिपतिर्ब्रह्मा शिवोमा अस्तु सदाशिवोम् । l

व्यक्तित्व

शिवमा परस्पर विरोधी भावहरूको सामंजस्य हेर्न पाइन्छ । शिवको टाउकोमा एकातिर चन्द्रमा छ,  भने दोस्रो तिर महाविषधारी सर्प पनि उनको घाँटिमा मालाको रुपमा विद्यमान छ । उनि अर्धनारीश्वर भएर पनि कामजित छन् । गृहस्थ भएर पनि श्मशानवासी, वीतरागी छन् । सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र छन् । शिव परिवार पनि यसले अछूता छैनन् । उनको परिवारमा भूत-प्रेत, नंदी, सिंह, सर्प, मयूर तथा मूषक सबैको समभाव देख्न सकिन्छ । उनि स्वयं द्वंद्वहरू देखि रहित सह-अस्तित्वको महान विचारका परिचायक छन् ।

ज्योतिर्लिंग-

सौराष्ट्रे सोमनाथं च श्रीशैले मल्लिकार्जुनम् । उज्जयिन्यां महाकालमोंकारममलेश्वरम् l l

परल्यां वैद्यनाथं च डाकिन्यां भीमशंकरम् । सेतुबन्धे तु रामेशं नागेशं दारुकावने l l

वाराणस्यां तु विश्वेशं त्र्यम्बकं गौतमीतटे । हिमालये तु केदारं घृष्णेशं च शिवालये l l

एतानि ज्योतिर्लिंगानि सायं प्रात: पठेन्नर: । सप्तजन्मकृतं पापं स्मरणेन विनश्यति l l

 

धेरै विद्वानहरूको मतानुसार माथि उल्लेखित द्वादश ज्योतिर्लिंगहरूमा केदारनाथ र पशुपतिनाथलाई मिलाएर एक ज्योतिर्लिंग मानिन्छ । महाभारतको युद्व पछी पाण्डवहरू गोत्र हत्याको पापबाट मुक्त हुनको लागी भगवान शिवको दर्शन गर्न जाँदा भगवान शिवले केदारखण्डमा पशुको रुप धारण गरेर चर्दै गरेका थिए । पाण्डवहरू आएको देखेर पशुरुपी शिव जमिनमा भासिए पछी पाण्डवहरूले पशुरुपी शिवको पुछरमा समातेर तान्न थाले । त्यसै बेला भगवान शिव जमिनमा भासिएर नेपालमा टाउको निकालेकाले केदारनाथमा पुछर र नेपालमा शिर मिलाएर एक ज्योतिर्लिंग मानिन्छ।

धर्मंशास्त्रहरुमा उल्लेख पाइन्छ कि जुन मनुष्यले प्रतिदिन प्रात:काल र संध्याको समय द्वादश ज्योतिर्लिङ्गको नामस्मरण गर्दछ उनिहरुको सात जन्मसम्मका संपूर्ण पापहरु नष्ट भएर जान्छन् l

यो पनि पढ्नुहोस्- आशुतोष भागवान शिवका रहस्य के-कस्ता छन् ?