Trending :
 

अस्ट्रेलियाकी सांसद भन्छिन्– महिला सांसदमाथि संसदभित्रै अपमान

भाद्र १४,२०७५

-

१४ भदौ, २०७५ एजेंसी l 
 
 
अस्ट्रेलियाकी एक महिला सांसदले संसद्भित्रै महिलामाथि अनावश्यक डर, धम्की र अपमान हुने गरेको गुनासो गरेकी छिन् । सोही कारण आफूले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने उनले बताएकी छिन् ।
 
जुलिया बैंकसले अस्ट्रेलियाको राजनीति र समाजमा लैंगिक विभेद हुने गरेको बताएकी हुन् । पछिल्लो समयमा अस्ट्रेलियाका पुरुष सांसदले आफूहरूप्रति घृणाभाव देखाएको विभिन्न महिला सांसदहरूले बताइरहेका वेला बैंकसका धारणा सार्वजनिक भएको हो ।
 
मेलबर्नबाट प्रतिनिधित्व गरेकी लिबरल पार्टी सांसद बैंकसले आफूलाई विभेद गरिएको विशेष घटनाबारे भने केही बताइनन् । तर, विज्ञप्तिमा भनेकी छिन्, ‘पुरुषहरूको खराब स्वभावको जहिले पनि विरोध गर्नेछु र महिलामाथि हुने जुनसुकै हिंसा स्वीकार्य छैन ।
 
यस्तो हिंसा मेरो आफ्नै पार्टी र लेबर पार्टीमा महसुस गरेकी छु ।’ अस्ट्रेलियाली महिलाहरूले अनेकौँ पीडा सामना गरिरहेको उनको भनाइ छ । ‘तर, पछिल्ला १२ महिना विश्वले निकै साहसी महिला देखेको छ,’ उनले थपिन् ।
 
उनको टिप्पणीपछि विभिन्न राजनीतिज्ञले अनेक टिप्पणी गरेका छन् । नवनियुक्त प्रधानमन्त्री स्कट मोरिसनले महिलामाथि हुने कुनै पनि विभेद आफूलाई स्वीकार्य नभएको बताएका छन् । त्यस्तै, महिलामन्त्री केली ओडेयरले पसल वा संसद्, जुनसुकै कार्यस्थलमा हुने हिंसा अस्वीकार्य भएको बताइन् ।
 
यसअघि महिला सांसदहरूलाई अवसर नदिएको भन्दै सन् २०१३ मा टोनी अबोट सरकारको आलोचना भएको थियो । १९ सदस्यीय मन्त्रिमण्डलमा अबोटले केवल एक महिलालाई मन्त्री बनाएका थिए । लेबर पार्टीभित्र पनि लैंगिक हिंसा हुने गरेको केही दिनअघि सार्वजनिक भएको थियो ।
 
लेबर पार्टीआबद्ध एक महिला सांसदले पुरुषको हिंसाले आफ्नो करिअर समाप्त भएको बताएकी थिइन् । सन् २०१२ मा संसद्मा गरेको सम्बोधनमा अबोटले महिलामाथि घृणा गरेको तत्कालीन प्रधानमन्त्री जुलिया गिलार्डले गुनासो गरेकी थिइन् ।