शान्ति र आनन्द सबैलाई चाहिन्छ, होइन र ?
-
१४ भदौ, २०७५ काठमाण्डौ l
विहाय कामान्यः सर्वान्पुमांश्चरति निःस्पृहः ।
निर्ममो निरहंकारः स शान्तिमधिगच्छति l l (गीता)
अर्थात् जसले सम्पूर्ण इच्छाहरुलाई त्यागेर अहंकाररहित भई विचरण गर्दछ उसले नै मनको शान्ति वा परमशान्ति पाउंदछ ।
व्याख्या : हरेक मानिस मनको शान्ति खोजिरहेको हुन्छ । सुख र शान्ति पाउने आशमा मानिस काम गर्छ, पढ्छ, धन कमाउंछ आदि इत्यादि गर्छ । तर गीतामा शान्ति पाउने तरिका स्पष्टरुपमा बताइएको छ कि सबै इच्छाहरुलाइ त्याग्न सकेमात्र शान्ति प्राप्त हुन्छ ।
इच्छाहरुको कहिल्यै पनि पूर्णरुपमा पुर्ति हुन सक्दैन । साइकल किनेपछि मोटरसाइकल किन्न मन लाग्छ । मोटरसाइकल किनेपछि गाडी, गाडी किनेपछि अझ राम्रो गाडी । पछि हवाइजहाज पनि किन्न मन लाग्ला । इच्छा ठुलो वा सानो हुंदैन । इच्छा 'इच्छा' नै हो । साइकल चड्नेको इच्छा र गाडी चड्नेको इच्छा उस्तै हो । इच्छाहरुको पछि लाग्दै गर्दा जब मानिस केहि प्राप्त गर्छ अनि उ घमन्डी भइहाल्छ। त्यसैले जसले इच्छाहरुलाइ त्याग्न सक्छ र आफुसंग जे छ त्यसमा सन्तुष्ट भई जो रहन सक्छ उसले नै शान्ति पाउंछ । शान्ति पाउने अरु कुनै पनि उपाय छैन ।
मानिसहरुको मनमा शान्ति भए मात्र समाज, देश, र विश्वमा शान्ति छाउंछ । द्वन्द, युद्ध तथा अशान्ति यिनै इच्छाहरुकै कारणले हुने हो ।
हामी शान्ति प्राप्त गर्नका लागि अनेक गतिविधि अपनाउने गर्छौं । तर, बुझ्न के जरुरी छ भने बाहिर होइन शान्ति हामीभित्रै छ । त्यसैले यसलाई खोजिरहनु पर्दैन । विचारमा एकाग्रता हुन जरुरी छ । एकाग्रतापूर्वक गरेको योजनाबाट नै सफलता हासिल हुन्छ । सबै कार्य विचारहरूमाथि निर्भर छन् । त्यसैले सधैँ आफ्नो मनमा उत्तम विचार ल्याउनुपर्छ र ती विचार नै हाम्रो बाह्य जीवनमा उत्तम अवस्थाको रूपमा प्रकट हुन्छ । शान्तिको सीधा सम्बन्ध शुद्ध भाव, उच्च समझ र सकारात्मक सोचमा निर्भर हुन्छ।
शुद्ध भावना
जीवनमा शन्ति प्राप्तिका लागि शुद्ध भावना राख्न जरुरी छ । एक–दुईजनासँग नभएर सबै मान्छेप्रति शुद्ध भावनाको जरुरी हुन्छ । यस्तो भावना राख्न गाह्रो छ तर असम्भव होइन । बुझाइ कम भएका व्यक्तिलाई लाग्न सक्छ कि शुद्ध भावनाले कुनै लाभ दिँदैन । तर, अशुद्ध भावनाले सबैभन्दा पहिला आफैँलाई हानि पुर्याउँछ । यसर्थ, आफ्नै बारेमा पनि शुद्ध भावनाको जरुरी हुन्छ ।
उच्च बुझाइ
काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेष मानिसका प्रमुख शत्रु हुन् । यही कारणले नै मानिसको जीवन निराशा र अशान्तिको मार्गमा जान्छ । गीतामा भनिएको छ कि यी ६ वटा शत्रुमाथि नियन्त्रण राख्ने व्यक्तिले नै उच्च बुझाइ राख्न सक्छ । यस्तो बुझाइ नभएका व्यक्तिको विवेकमाथि अज्ञानता र अहंकार हावी रहन्छ । जसकारण दुःख र अशान्तिको अवस्था निम्तिने गर्छ ।
सकारात्मक सोच
सकारात्मक सोच निकै कठिन विषय हो । तर, कठिन त्यतिवेलासम्म लाग्छ, जतिवेलासम्म यसलाई तपाईं बुझ्नुहुन्न । सकारात्मक सोच र नकारात्मक सोचमा त्यति अन्तर छैन । यो एउटै स्थिति हो । बुझाइ, परिस्थिति र अनुभवअनुसार मानिस यसबारे फरक–फरक व्याख्या गर्छन् । सामान्यतया सकारात्मक सोच भनेको जीवनमा अनुकूल–प्रतिकूल जुनसुकै घटना आइपरे पनि यो आफ्नै कल्याण र विकासका लागि भएको भनी बुझ्नुपर्छ । मानिसमा भ्रम हुन सक्छ कि आफू नै पूर्ण छु, बाँकी सबै अपूर्ण । यस्तो विचार राख्दा हामी आफ्नै कुनै गल्तीबारे विचार गर्दैनौँ ।
अर्कामा मात्र सुधार खोज्छौँ । यतिसम्म कि हाम्रो आफ्ना स–साना समस्याको सुधार गर्दैनौँ तर प्रबुद्ध मानिसलाई सल्लाह दिन अघि सर्छौं । यस्तो बानीले मनमा शुद्ध र राम्रो विचार उत्पन्न हुँदैन । र, यहीँबाट सुरु हुन्छ, मनको दुःखको दुनियाँ । तर, के बुझ्न जरुरी हुन्छ भने जीवनको सबैभन्दा महँगो चिज नै हाम्रो वर्तमान समय हो । किनकि, बितेका समयलाई जतिसुकै सम्पत्तिले पनि खरिद गर्न सक्दैन । त्यसैले सकारात्मक सोचसहित वर्तमानको समयमा शान्त व्यवहार गर्न जरुरी हुन्छ ।
बौद्धिकता के हो ?
सांसारिक बौद्धिकता अहंकारबाट प्रेरित हुन्छ । अहंकार भनेको अज्ञानता हो । यो मानव जीवनको अभिशाप नै हो । सांसारिक बौद्धिकताको सिकारले मान्छे आफूलाई महाज्ञानी ठान्छ र अरूलाई अज्ञानी। यस्ता मानिसले सबै कुरामा विवाद र जिद्दी गर्छन् । मनोवैज्ञानिकहरूका भनाइअनुसार मानवमा हुने हीनता ग्रन्थिका कारण मनिसले सधैँ अरूभन्दा श्रेष्ठ र अरूलाई हीन ठान्छ ।
यस्ता मानिसले गल्ती त गर्छ, तर त्यसबाट सिक्दैन । सांसारिक बौद्धिकताको वास्तविकतासँग केही सम्बन्ध हुँदैन । तर, हामीमाथि विवेकको शासन हुनुपर्छ । हुन त विवेकबाट लाभ मात्र मिल्छ भन्ने छैन । विवेक भनेको सरलता, धैर्य र विनम्रता हो । जसले आफ्नो मनमाथि नियन्त्रण राख्छ । जसका कारण शान्ति र आनन्द प्राप्त गर्छ ।
जसबारे सधैँ ध्यान दिनुस्
कुनै पनि कुरालाई बढी विश्लेषण गर्ने बानीले मस्तिष्कलाई प्यारालाइसिस बनाइदिन्छ । सांसारिक जीवनमा पूर्णता प्राप्त हुँदैन तर पूर्णता प्राप्तिका लागि सधैँ प्रयास गर्नुभयो भने उत्कृष्टता अवश्य प्राप्त हुन्छ। मैदानमा हारेको मान्छेले फेरि जित्न सक्छ तर मनले हारेको व्यक्तिले कहिल्यै पनि जित्न सक्दैन । कति दिनसम्म हामी यो धर्तीमा रहन्छौँ, थाहा छैन । तर, एक दिन भने पक्कै रहँदैनौँ । तपाईं जति राम्रो भए पनि मानिसको निन्दाबाट बच्न सक्नुहुन्न ।