पिता पाण्डुको मस्तिष्क आफ्नै छोरा सहदेवले खाए ! महाभारतको रोचक कथा
-
१४ भदौ, २०७५ काठमाण्डौ l
हिन्दू धर्मग्रन्थहरु मध्येको सबैभन्दा ठूलो ग्रन्थ महाभारत हो । जसलाई पाँचौ वेदसमेत मानिन्छ !
महाभारतमा आर्य संस्कृतिको अनुपम ग्रन्थ पौराणिक ऐतिहासिक तथा दार्शनिक ग्रन्थको रुपमा लिइन्छ । विश्व प्रसिद्ध भगवद्गीता पनि महाभारतकै अंश हो । कौरव र पाण्डवबीच कुरुक्षेत्रमा भएको युद्धको सुरुवातमा नै भगवान कृष्णले पाण्डुपुत्र अर्जुन मार्फत सम्पूर्ण मानवजातीलाई दिएको उपदेशको रूपमा गीतालाई धर्मशास्त्रमा व्याख्या गरिएको छ । महाभारतमा विभिन्न प्रसंगहरु छन् । यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिँदै छ ।
राजा पाण्डुले आफ्नो मासु खान भने पाण्डवहरुलाई !
हस्तीनापुरको सीमा क्षेत्रलाई राजा पाण्डुले निकै बिस्तार गर्दै चक्रवर्ती राजा बनेका थिए । काशी, अंगदेश, मगध लगातका धेरै राज्यलाई पाण्डुले हस्तिनापुरमा समेटेका थिए । आफ्नो सीमा बिस्तार गरेर राजकाज सम्हाल्न आएका राजा पाण्डु युद्धको थकान मेट्नका लागि रानीहरुलाई लिएर वनमा जान्छन् । र राजकाजको जिम्मा आफू फर्केर नआउने बेला सम्मका लागि दाजु धृतराष्ट्र (अन्धोपनका कारण कुरुवंशमा जेठो भएपनि उनी राजा बन्न बाट वंचित थिए) लाई दिएका थिए । वनमा आराम गर्न गएका पाण्डु एउटा समस्यामा पर्छन् । ऋषि किन्दमको श्रापका कारण राजा पांडुको पत्नीसँगको संगमको क्रममा निधन हुन्छ । पांडुका पाँच छोरा थिए । जसमा युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल तथा सहदेव ।
पांडु ज्ञानी थिए । उनको अन्तिम इच्छा थियो कि उनका पाँचै छोराले उनको मृत शरीरलाई खाऊन् ताकि उनीहरुले ज्ञान आर्जन गर्न सकून् जो ज्ञान उनले पाएका थिए । त्यो ज्ञान छोराहरुमा जावस् भन्ने पाण्डुको इच्छा थियो ।
उनको निधनपछि पाण्डुपुत्रहरुले बाबुको शरीर खान मानेनन् । तर सहदेवले भने आफ्ना पिताको इच्छा पालन गर्नका लागि मस्तिष्कको तीन हिस्सा खाएका थिए । पहिलो टुक्रा खानासाथ सहदेवलाई इतिहासको ज्ञान भएको थियो । दोस्रो टुक्रा खानासाथ उनलाई वर्तमान र तेस्रो टुक्रा खानासाथ भविष्यको ज्ञान भएको थियो ।
भविष्यबारे जान्दा जान्दैपनि उनले महाभारत युद्धलाई रोक्न सकेनन् । किनकी भगवान कृष्णले उनलाई श्राप दिएका थिए । यदि सहदेवले भविष्यलाई हेर्दै महाभारत युद्ध हुन्छ भन्ने बताएको क्षणमा नै उनको मृत्यु हुने थियो ।