Trending :
 

रोनाल्डोलाई उत्कृष्ट फरवार्डको उपाधि

भाद्र १५,२०७५

-

 
भदौ १५, २०७५ एजेन्सी ।
 
   
क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट फरवार्डको उपाधि जितेका छन्।
 
च्याम्पियन्स लिगमा गरेको प्रर्दशनका आधारमा वितरण गरिने च्याम्पियन्स लिगको विधागततर्फको उत्कृष्ट फरवार्डको उपाधि पोर्चुगिज स्टार रोनाल्डोले हात पारेका हुन्।
 
बर्सिलोनाका लियोनल मेसी र लिभरपुलका मोहमद सालाहलाई पछि पार्दै रोनाल्डोले उपाधि रक्षा गरेका हुन्।
 
हालै युभेन्टसमा आवद्ध रोनाल्डोले रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रोनाल्डोले गत सिजन रियलको लागि ४४ खेलमा ४४ गोल गरेका थिए । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।
 
च्याम्पियन्स लिगमा रोनाल्डोले गत सिजन १३ खेलमा सहभागिता जनाए । त्यसक्रममा १ हजार १ सय ७० मिनेट मैदानमा बिताएका रोनाल्डोले १५ गोल गर्दै नयाँ कीर्तिमान कायम गरे । उनले तीन असिस्ट पनि दिएका थिए । उनले हालसम्म पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् ।
 
रोनाल्डोले उत्कृष्ट फरवार्डको लागि भएको मतदानमा २ सय ८७ अंक पाए।  दोस्रो स्थानको मोहमद सलाहले २ सय १८ अंक जोड्दै प्रतिस्पर्धा दिएका थिए । तेस्रो स्थानका लिओनेल मेसीले ४३ अंक मात्र जोड्न सके। चौथो स्थान प्राप्त गरेका किलियन एमबाप्पेले १७ अंक हासिल गरे । पाँचौ स्थानमा रहेका एडिन जेको र ह्यारी केन १५(१५ अंक जोडेका थिए ।मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ । पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था रहेको छ ।