रियलका नाभास उत्कृष्ट गोलरक्ष
-
भदौ १५, २०७५ एजेन्सी ।
ब्राजिल र इटालीका गोल रक्षकलाई पछि पार्दै कोस्टारीका राष्ट्रिय टोली एवम् रियल म्याड्रिडका गोलरक्षक कलर नाभासले युरोपको उत्कृष्ट गोलरक्षकको उपाधि जितेका छन्।
उपाधि जित्ने क्रममा नाभासले ब्राजिलका गोलरक्षक एलिसन बेकर र इटालियन गोलरक्षक जियानलुइजी बुफोनलाई पछाडि पारेका हुन्।
रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका नाभासले च्याम्पियन्स लिगका ११ खेलमा १३ गोल मात्र खाएका थिए।
उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।
नाभासले मतदानमा २ सय २२ अंक हासिल गर्दै पहिलो स्थान हासिल गर्दा लिभरपुलमा रहेका गोलरक्षक एलिसन बेकर १ सय ९७ अंकसहित दोस्रो स्थानमा रहे। तेस्रो स्थानमा बुफोनको ९२ तथा चौथो स्थानका मार्क आन्देर टेर स्टेगनले ४७ अंक मात्र जोड्न सकेका थिए। यस्तै पाँचौ स्थानमा रहेका हाल रियल मड्रिडमा आवद्ध भएका चेल्सीका थिबाउट कोर्टियसले २८ अंक पाए।
मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान छ । पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था छ।