भारतले रुसबाट मिसाइल खरिद गर्न लागेपछि अमेरिकाको आपत्ति
-
१५ भदौ, २०७५ एजेंसी l
भारतले यसै वर्षको अन्त्यतिर रुससँग प्रतिरक्षात्मक प्रणाली लगायत प्रमुख हतियार खरिद सम्बन्धि सम्झौता गर्ने भएपछि अमेरिकाले यसबारे गम्भीर चिन्ता व्यक्त गरेको छ ।
अमेरिकाले रुसमाथि हाल लगाएको प्रतिबन्ध अनुरुप कुनैपनि देशले उनीहरुसँग प्रतिरक्षात्मक वा बौद्धिक क्षेत्रमा कारोबारे गरे सो राष्ट्रले पनि अप्रत्यक्ष रुपमा अमेरिकी प्रतिबन्धको सामना गर्नु पर्ने हुन्छ । त्यसैकारण वासिङटन र नयाँ दिल्लीबीच उच्च स्तरको वार्तापूर्व अमेरिकाले भारतलाई यस विषयमा कुनै कुरा सुनिश्चित गर्न नसक्ने बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
बुधबार अमेरिकी रक्षा विभाग पेन्टागनका वरिष्ठ एसियाली अधिकारी रेन्डल स्कृभरले भने, “वास्तवमा हामीले भारतसँगको सम्बन्धलाई कुनैपनि अवास्थामा बचाइ राख्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छौँ । त्यसकारण उनीहरुले जस्तोसुकै निर्णय लिएपनि हामीले भारतलाई जोगाउनैपर्ने हुन्छ । तरपनि रुसबाट हातियार खरिद गर्नु हाम्रा लागि गम्भीर चिन्ताको विषय हो । अब भने यसबारे केबल राष्ट्रपति ट्रम्पले मात्र निर्णय गर्न सक्नेछन् ।”
यसअघि राष्ट्रिय सुरक्षाको मुद्दामा सो प्रतिबन्ध छुट गर्न सकिने बताइएको थियो जसकारण पनि अमेरिकाले भारतसँगको सम्बन्धलाई मध्य नजर राख्दै यसमा कुनै अवरोध नपुर्याउने बताइएको थियो ।
त्यसैगरी अमेरिकी रक्षा मन्त्री जिम म्याटिस पनि यसमा भारतलाई छुट दिनमै जोड दिँदै आएका छन् ।
भारतले भने लामो समय अगाडि देखि नै रुसबाट रसियन एस–४०० हवाइ मिसाइल प्रणाली खरिद गर्ने योजनामा काम गरिरहेको थियो । यसमा भारतसँग अन्य विकल्पबारे छलफल गर्न आगामी हप्ता नै अमेरिकाका वरिष्ठ अधिकारीहरु उच्च स्तरको वार्ताका निम्ति नयाँ दिल्ली जाने तयारी भएको बताइएको छ ।
यो बैठक गत वर्ष नै ट्रम्प र प्रधानमन्त्री मोदीका बीच तय भइसकेको थियो । तर पूर्व सचिव रेक्स टिलरसन बर्खास्त भएसँगै जुनमा कार्यक्रम स्थगित गरिएको हो ।