ट्रम्पको आरोप–उत्तर कोरियाको मुद्दा अगाडि बढ्न नसक्नुमा चीनको षड्यन्त्र
-
१५ भदौ, २०७५
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको सम्झौतालाई असफल पार्न चीनले विभिन्न षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् । यसअघि सिंगापूरको सम्मेलनमा नेता किम जोङसँग कोरियाली प्रायद्विपलाई निशस्त्रीकरण गर्ने सम्बन्धी द्विपक्षीय सहमति गरिसकेपनि प्योङयोङले अहिलेसम्म कुनै प्रभावकारी कदम नउठाउँदा ट्रम्पको सबैतिरबाट आलोचना भइरहेको थियो । यसै दबाबका बीच उनले यसका लागि चीनलाई जिम्मेवार ठहर्याउने गरेको बताइएको छ ।
यसका साथै उनले ट्वीटमार्फत उत्तर कोरियासँगको सम्बन्धमा कुनै समस्या आउन नदिन दक्षिणसँगको संयुक्त सैन्य अभ्यास पुनः सुरु नगरिने जानकारी पनि दिएका हुन् । उता केही दिन अगाडि मात्र अमेरिकी रक्षा मन्त्रीले भने प्योङयोङको गतिविधिलाई हेर्दै सो अभ्यास जारी गर्न सक्ने बताएका थिए ।
तर ट्रम्पले चाहिँ अझैपनि किमसँगको आफ्नो नजिकी सम्बन्ध कायम राख्न उत्तर कोरियालाई आक्रोशित पार्ने किसिमका कुनैपनि कार्य नगरिने उल्लेख गरेका हुन् । यता ट्रम्पको यस्तो बयानप्रति गम्भीर आपत्ति जनाउँदै चीनले पनि उनीमाथि आफ्नो कमजोरी लुकाउन बिना प्रमाण अनावश्यक ठहर गरिरहेको आरोप लगाएको छ ।
यसरी चीन विरुद्ध ट्वीट गर्दैगर्दा उनले फेरि पनि उत्तर कोरियाली शाषक किमको खुलेर तारिफ गरेका छन् जसप्रति उनका आलोचकहरुले असन्तुष्टि जनाइरहेका छन् । उता उत्तर कोरियासँगको वार्ताको कुनै ठूलो प्रभाव अनुभव नगरिरहेकाहरुले भने पछिल्लो समय वासिङटनमाथि लगातार दबाब दिइरहेका छन् ।
विशेषगरी जापानले अझै उत्तर कोरियामाथिको प्रतिबन्ध खुकुलो पार्न नहुनेमा जोड दिइरहेको छ । तरपनि ट्रम्पले भने धेरैपटक उत्तर कोरियाबाट कुनै खतरा नरहेको उल्लेख गर्दै यस विषयमा सबैले धैर्य गर्नुपर्ने बताइरहेका छन् ।
त्यसैगरी केही दिन अगािड मात्र वासिङटनले उत्तर कोरिया आफ्नो वचनबाट पछि हटिरहेको जनाउँदै विदेश मन्त्री माइक पोम्पेओको प्योङयोङ भ्रमण रद्द गराएको थियो ।
यसकारण पनि यो मुद्दामा नयाँ शंका उत्पन्न भएको बताइएको हो । तर हालै गरेको ट्वीटमा भने ट्रम्पले उत्तर कोरिया चीनको चरम दबाबमा भएकाले नै अमेरिकासँगको सम्झौता पूरा गर्न कठिन मानिरहेको उल्लेख गरेका हुन् । बेइजिङ उत्तर कोरियाको सबैभन्दा पुरानो र महत्वपूर्ण मित्रराष्ट्र रहँदै आएकाले उनीहरुको हरेक निर्णयमा कतै न कतै बेइजिङको पनि हात हुने गरेको मानिन्छ ।
ट्रम्पका अनुसार व्यापारिक मुद्दामा चीन र अमेरिकाबीच चलिरहेको विवादका कारण नै बेइजिङले उत्तर कोरियाको विषयमा यस्तो रणनीति अपनाइरहेको हो । तरपनि चीनसँगको समस्या आफू र स्वयम राष्ट्रपति जिङपिङबीच छलफल भएमा भने सजिलै समाधान गर्न सकिने ट्रम्पको भनाइ छ ।